काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहमा रहेका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन्।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा मन्तव्य राख्दै महामन्त्री थापाले कांग्रेसले पक्षपोषण गर्ने भनेको तल्लो तहका नागरिकको जीवनस्तर उकास्न भएको बताएका हुन्।
'हामीले खोजेको भनेको समुन्नत नेपाल हो, हामी पूँजीवादी अर्थ व्यवस्थामा विश्वास गर्छौ, नाफालाई अपराध मान्दैनौँ, तल्लो तहमा रहेका नागरिकहरुलाई माथि उकास्न चाहन्छौँ, हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनु पर्दैन, नेपाली नागरिकले खोजेको कुरा यही हो, यसका लागि व्यवस्थित प्रणाली आवश्यक छ,' उनले भने।
महामन्त्री थापाले उदारवादी पार्टी भए पनि बेलायतमा लेबर पार्टी दबाबमा रहेको भन्दै नेपालले सिक्नुपर्ने कुरा बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापनको विषय भएको बताए।
'हामीले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली हो, संसदीय प्रणालीमा हाम्रो ठूलो विश्वास छ, लेबर पार्टीबाट सिक्ने कुरा धेरै छ,' उनले भने। उनले लेभव पार्टीसँग नेपाली कांग्रेसको भगिनी सम्बन्ध रहेको बताउँदै पुराना पार्टीहरु संकटमा भएको अवस्थामा वेलायतमा लेबर पार्टी पनि संकटमा देखिएको बताए।
यस्तै, बेलायतको लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताउँदै नेपाली कांग्रेस र नेपालमा पनि लेबर पार्टीमा भएका राम्रो कामहरु लागू होस् भन्ने आफूले चाहेको बताए।
नेता कैनीका अनुसार बेलायतमा पनि योग्य व्यक्तिलाई नै सरकारको नेतृत्व दिनुपर्छ भन्ने आधारमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुने गरेको छ।