काठमाडौं। दूरसञ्चार कम्पनी (नेपाल टेलकम)ले नेपालकै लामो सुरूङ मार्ग नागढुंगा-नौबिसेमा मोबाइल नेटवर्क सञ्चालन गर्न लिकी फिडर केवल एन्टिना जडान गर्ने भएको छ।
टेलिकमका अनुसार यो प्रविधि नेपालमा पहिलो पटक जडान तथा सञ्चालन गर्न लागिएको हो। इन्डोर कभरेज सोलुसन भनिने यो प्रविधि जडानका लागि कम्पनीले गत असार १ गते सडक विभागसँग सम्झौता गरी खरिद प्रक्रिया अगाडि बढाइएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।
'देशकै ठूलो र गौरवको आयोजना नागढुंगा नौबिसे सुरूङ मार्गमा नेपाल टेलिकमको नेटवर्क दिने तयारी गरेका छौँ। यसका लागि सडक विभागसँग सझौता भइसकेको छ,' मानन्धरले भने।
मानन्धरका अनुसार लागत कति लाग्छ? भन्ने तय भइसककेको छैन। यस्तो प्रविधि नेपालमा उपलब्ध नभएकाले अन्तर्राष्ट्रिय टेन्डरको तयारी भइरहेको उनको भनाइ थियो। उनका अनुसार सुरूङ मार्ग सञ्चालनमा आउनुअघि जडान गरिसक्ने योजनामा टेलिकम छ।
सेवा सञ्चालनका लागि टेलिकमले सुरुङ मार्गको दुवैतर्फ फोर जी र टु जी चल्ने बेस्ट ट्रन्ससभर स्टेसन (बिटीएस) टावर निर्माण गर्ने छ। सुरुङको भित्री भागको दायाँ बायाँबाट यो केवल वारपार जोड्ने छ।
मानन्धरका अनुसार यो प्रविधि जडानपछि मोबाइल नेटवर्कसहित उच्च गतिको डाटा इन्टरनेट चलाउन सकिन्छ।
के हो लिकी फेडर एन्टेना?
लिकी फिडर सुरुङभित्र मोबाइल नेटवर्क सञ्चालन गर्न प्रयोग हुने केवल एन्टेना हो। रेल सुरुङ, खानी, अन्डर ग्राउन्ड सबवे, मेट्रो स्टेश तथा ठूला भवनका भित्री भागमा यस्तो प्रविधिको प्रयोग हुने गर्छ।
सामान्य एन्टेनाले एउटा विन्दुबाट सिग्नल प्रसारण गर्छन्। तर, केबल (तार) जस्तै देखिने एन्टेनामा स साना छिद्र हुन्छन्। ती छिद्रबाट लगातार रेडियो सिग्नल बाहिर आउँछन्। अर्थात केवल आफैले सिग्नल प्रसारणसँगै सुरुङभित्र सम्पर्कमा आउने मोबाइल वा उपकरणमा नेटवर्क दिनेछ।
जसले सुरुङ वा भूमिगत स्थानमा मोबाइल वा रेडियो सिग्नल सम्प्रेषण गर्न सहयोग गर्छ।