कास्की। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या, चुनौती र सुधारका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको ध्यानाकर्षण गराएको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले आज पोखरामा मन्त्री पौडेललाई पत्र बुझाउँदै पर्वतारोहण तथा पदयात्रा पर्यटनको प्रवर्द्धन र सुरक्षित पर्यटनका लागि तत्काल नीतिगत तथा व्यावहारिक सुधार गर्न माग गरे।
ध्यानाकर्षण पत्रमा पर्यटन नीति तथा कानुनमा सुधार, पदमार्ग संरक्षण, सुरक्षित पर्यटनको प्रत्याभूति, नक्कली उद्धार (फेक रेस्क्यु) अन्त्य, अवैध ट्रेकिङ व्यवसाय नियन्त्रण, टिम्स प्रणाली प्रभावकारी कार्यान्वयन, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार तथा नयाँ पदमार्गको खोजी र प्रवर्द्धनका विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
टानले अन्नपूर्ण संरक्षण क्षेत्रलगायत हिमाली पदमार्गमा सडक विस्तार, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दा पदमार्गमा नकारात्मक असर नपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
यसैगरी, पदमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि उद्धार प्रणालीलाई व्यवस्थित बनाउन तथा हिमाली क्षेत्रमा अनियन्त्रित ढंगले निर्माण भइरहेका हाइड्रोपावर आयोजनामा रोक लगाउँदै ‘टुरिजम इम्प्याक्ट एसेसमेन्ट’ अनिवार्य गर्नुपर्ने माग पनि गरिएको छ।
पत्रमा नेपाल सरकारले लागू गरेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, इजाजत प्राप्त ट्रेकिङ कम्पनीमार्फत मात्रै पदयात्रा गराउने कानुनी व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने तथा अवैध ट्रेकिङ सञ्चालन गर्नेमाथि कडा कारबाही गर्नुपर्ने उल्लेख छ।
नेपाल पर्यटन बोर्डलाई आफ्नो मूल उद्देश्यअनुसार पर्यटन प्रवर्द्धनमा केन्द्रित बनाउनुपर्ने, सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडललाई प्रभावकारी बनाउँदै बोर्डको कार्य सम्पादन सुधार गर्नुपर्ने सुझाव पनि टानले दिएको छ।
विकासका नाममा गरिने निर्माणका कारण पुराना पदमार्ग संकटमा परेको उल्लेख गर्दै डाँफे पदमार्ग, सर्किट तथा ‘सफ्ट हिमाल’ पदमार्ग, जलजला-ढोरपाटन-ढोरपाटन क्षेत्र, फेवा-रानीवन पदमार्ग, पञ्चासे पदमार्ग तथा लमजुङका विभिन्न पर्यटकीय पदमार्गको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धन गर्न आग्रह गरिएको छ।
जलवायु परिवर्तन, फोहर व्यवस्थापन, वातावरण संरक्षण र दिगो पर्यटन प्रवर्द्धनलाई सरकारी प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै टान गण्डकीले पर्यटन क्षेत्रका आधारभूत समस्या समाधानका लागि सरकारले शीघ्र ठोस कदम चाल्ने विश्वास व्यक्त गरेको छ।