काठमाडौं। नेपालमा व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थानीय लेखा नम्बर (प्यान) लिनुपर्ने भएपछि लामो समयसम्म साना व्यापार व्यवसाय गर्दै आएका भारतीय नागरिकले अब सहजै प्यान नम्बर लिन सक्ने भएका छन्।
लामो समयदेखि भारतीय नागरिकले नेपालमा चिया, पान, सैलुन (कपाल कटाइ), फलफूललगायतका साना पसल राखेर व्यापार व्यवसाय गर्दै आएका छन्। उनीहरूले प्यान नम्बरबिनै व्यापार व्यवसाय गर्दै आए पनि लिन चाहे सरकारले सहजै दिने व्यवस्था गरेको हो।
आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार भारतीय नागरिकले व्यावसायिक प्यान नम्बर लिन चाहे व्यवसाय दर्ता गरे प्यान नम्बर लिन सक्नेछन्।
व्यवसायले व्यवसाय गर्दा सम्बधित वडा कार्यालय, पालिका वा घरेलु कार्यालयमा दर्ता भएको खण्डमा व्यवसायिक प्यान नम्बर लिन सक्ने सूचना अधिकारी रघुवंशीले बताए। व्यवसायले यी कार्यालयमा दर्ता नभएर सोझै व्यावसायिक प्यान नम्बर भने पाउने छैनन्।
भारतीय नागरिकले व्यक्तिगत प्यान नम्बर लिन चाहे परिचय खुल्ने जुनसुकै कागजपत्र पेस गरे सहजै व्यक्तिगत प्यान नम्बर लिन सक्नेछन्। उनीहरूले व्यक्तिगत प्यान नम्बर लिन चाहे रासन कार्ड, काठमाडौंस्थित भारतीय दूतावासको पत्रका आधारमा व्यवसाय प्यान नम्बर लिन सक्ने सूचना अधिकारी रघुवंशीले बताए।
साना व्यवसायीले व्यवसाय गर्दै आए पनि अहिलेसम्म प्यान नलिएकाको हकमा दुई प्रकारको व्यवस्था लागू गरेको विभागले जनाएको छ।अहिलेसम्म कुनै पनि कार्यलयमा दर्ताबिनै व्यवसाय सञ्चालन गरिएको वा पहिलाको रेकर्ड आवश्यक नपरे ती व्यवसायले अब नयाँ व्यवसाय दर्ता गर्दा पनि हुनेछ। अहिले ती व्यवसायको हकमा छुट्ट सुविधा पनि सञ्चालनमा ल्याइएको छ।
यस्ता व्यवसायले विभागको अफर (स्किम)मा आएको व्यवस्थालाई प्रयोग गरेर अन्य कार्यालयमा दर्ता मितिदेखि विभागको तोकेको समयसम्म सुविधा प्रयोग गरेर नयाँ मितिमा व्यवसाय दर्ता गर्ने सक्ने व्यवस्था छ। कार्यालयमा दर्ताबिना व्यवसाय सञ्चालन गरेकाको खण्डमा कारोबार घोषणा गरेर कर तिरे विभागको स्किमसमेतको सेवा लिन सक्ने वा अहिलेसम्म व्यवसाय सञ्चालन नगरेकाले समेत सेवा लिन पाउने व्यवस्था रहेको सूचना अधिकारी रघुवंशीको भनाइ छ।
सरकारले लागू गरेको व्यवस्थाअनुसार सडकमा प्लास्टिक टिप्नेदेखि भारी बोक्नेसम्मले प्यान नम्बर लिनुपर्ने हुन्छ। सरकारले व्यवसाय वा आय आर्जनमा संलग्न सबै व्यक्तिले प्यान नम्बर लिनुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो।
आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार भारतीय नागरिकले व्यावसायिक प्यान नम्बर लिन चाहे व्यवसाय दर्ता गरे प्यान नम्बर लिन सक्नेछन्।
प्यान संसारभर कर पहिचान नम्बरका रुपमा परिचित छ। आर्थिक गतिविधिमा संलग्न जोकोही प्यानको दायरामा आउनुपर्ने कानुनी प्रावधान छ।
जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ। कुनै कम्पनी दर्ता गर्नुपरेमा व्यवसायिक प्यान प्रयोग हुन्छ। व्यक्तिको नामको प्यानबाट पनि व्यवसाय गर्न मिल्छ।
स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो। यो संकेत एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा अन्य विवरण बदलिए पनि करदाताका लागि सधैँभरी सोही संकेत अंक कायम रहन्छ।
व्यावसायिक प्यान लिन के गर्ने ?
भारतीय नागरिक मात्रै नभई नेपाली नागरिकले पनि व्यवसाय वा रोजगारी गरेपछि कुनै न कुनै रुपमा सरकारलाई कर बुझाउनैपर्ने हुन्छ। व्यवसाय दर्ता गरिसकेपछि कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्दछ।
प्यान लिन व्यवसाय र संस्था दर्ताको प्रमाणपत्र, संस्था वा व्यवसाय दर्ता गर्दा हस्ताक्षर गर्ने संस्थाको प्रमुख व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो, एकलौटी फर्मको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि, यदि एकभन्दा बढी एकलौटी फर्म भए सबैको दर्ता प्रमाणपत्रका प्रतिलिपि आवश्यक पर्छ। मुख्य कारोबारस्थलको नक्सा, सञ्चालक समितिको निर्णय, कम्पनीको हकमा अख्तियारवालाको फोटो समावेश गर्नुपर्छ।
प्यान नलिई व्यापार गरे के हुन्छ ?
प्यान नलिई कारोबार गरे आयकर ऐनको अनिवार्य व्यवस्था नमानेबापत ऐनको दफा ११९ को (क) अनुसार ५ हजार देखि ३० हजारसम्म जरिवना हुनसक्छ । साथै आयात निर्यात गर्दा, बैंकिङ कारोबार गर्दा वा सरकारी सार्वजनिक निकायसँग सरोकार पर्ने कार्य गर्न नपाइने हुन सक्छ।
उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बिलबिजक, खाता, कागजात तथा आय विवरणजस्ता करसम्बन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ। यसबाट राज्यको प्रणालीमा आवद्ध भएको पहिचान पनि दिने र नागरिकलाई आफूले प्रत्यक्ष कर तिरेको अनुभूति कार्ड लिएपछि हुन्छ।