काठमाडाैं। निजामती सेवाको ५८ वर्षे उमेरहदका कारण राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी घिमिरेले आजदेखि अनिवार्य अवकाश पाएका छन्। गत भदौ ७ मा विभाग महानिर्देशकको जिम्मेवारी पाएका घिमिरेले अवकाशको अन्तिम दिन शुक्रबारसम्म आफ्नो कार्यकालमा भएका राजस्व चुहावटसम्बन्धी विवरण सार्वजनिक गरेका छन्।
विभागमा १० महिना चार दिन काम गरेका घिमिरेले राजस्व चुहावटमा संलग्नमाथि गरिएको कारबाही, अदालतमा दायर अभियोगपत्र, मागदाबीलगायत उपलब्धि सार्वजनिक गरेका हुन्।
महानिर्देशक घिमिरेले कार्यकाल अवधिमा राजस्व चुहावटका १६० प्रतिवादीविरुद्ध ४८ वटा अभियोगपत्र दायर गरिएको जानकारी दिए। उनीहरूविरुद्ध २ अर्ब ५९ करोड बिगो र सोही बराबरको जरिवाना गरी ५ अर्ब १८ करोड रुपैयाँ बराबरको मागदाबी गरिएको उनले बताए।
घिमिरेको कार्यकालमा भन्सार चोरी पैठारी तथा भन्सारबाट जाँचपास भएका सामानका आयातकर्ता तथा ट्रान्सपोर्ट कम्पनीको निरीक्षण गरी राजस्व चुहावट भएको दाबीसहित १ अर्ब १६ करोड धरौटी माग र ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व विभाग तथा भन्सार विभागमा राजस्व असुल्न लेखी पठाइएको उनले उल्लेख गरेका छन्।
दस महिनामा विदेशी विनियम अपचलनतर्फ १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दायर गरिएको छ भने १ अर्ब २६ करोड बिगो रकम माग र ५ अर्बभन्दा बढीको तेब्बर जरिवाना मागदाबी गर्दै विशेष अदालत पाटनमा मुद्दा दायर गरिएको घिमिरेले बताए।
यसमध्ये सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल ६१ करोड रुपैयाँ बराबरको मुद्दा, टोखामा ट्रकमा राखेर चीन लैजाँदै गर्दा बरामद २५ करोड रुपैयाँको विदेशी मुद्रालगायतलाई घिमिरेले कार्यकालमा गरेको सफलता ठानेका छन्।
विभागले २०८२ वैशाख २ मा टोखाबाट गत चैत ४ मा बरामद २५ करोड रुपैयाँ प्रकरणमा दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
विभागले २५ करोड रुपैयाँ प्रकरणमा ट्रक चालक कुसाङ लामा र फरार नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) अन्तर्गत यो अवधिमा घिमिरेको कार्यकालमा १६६० वटा फर्म तथा कम्पनीमाथि कारबाही गरी ४ करोड ४४ लाख रुपैयाँ जरिवाना तिराइएको छ।
अनुसन्धानका क्रममा जुत्ताचप्पल, कुरियर सेवा, भेप, फल्समा मात्रै नभएर चकलेटको तौल कम गर्ने, सुक्खाबन्दरगाहाको कन्दरामा लुकाएर ट्रकमा लोड गर्ने, मात्रा र मूल्य फरक–फरक गर्नेलगायतका विभिन्न शैली अपनाएर राजस्व चुहावट हुने क्रम बढेको उनकाे भनाइ छ।
घिमिरेले यो अवधिमा दायर गरेको मुद्दाको मागदाबीमध्ये सबैभन्दा धेरै कुरियर सेवामा भएको कर छली रहेको जानकारी दिए। अस्ट्रेलियामा सर्भर राखेर नेपालका कर छली आरोपमा नेपाल क्यान मुभ प्रालिविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख बराबरको मागदाबी कायम गरिएको छ।
सुनचाँदीको अवैध कारोबार गरी कर छली गरेका अभियोगमा १८ वटा मुद्दा दर्ता गरिएको घिमिरेले बताए। उक्त मुद्दामा ४७ जनाविरुद्ध कुल १ अर्ब ३३ करोड ९६ लाख बराबरको मागदाबी गरिएको छ।
नक्कली बिलतर्फ ३ वटा मुद्दामा तीन कम्पनीलाई १ अर्ब २८ करोड १२ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दायर, कपडा व्यवसायमा कर छलीको अभियोगमा ७ वटा मुद्दामा ४० जनाविरुद्ध ५७ करोड ६० लाखको मुद्दा दायर गर्नुका साथै पहिलो पटक सिन्धुलीलगायत जिल्लामा पुगेर राजस्व छलीमाथि अनुसन्धान गरिएको महानिर्देशक घिमिरेले बताए।
विद्युतीय चुरोट (भेप) को अवैध कारोबारमा ४ वटा मुद्दा दायर गरी १९ जनाविरुद्ध २४ करोड ८० लाख रुपैयाँ बराबरको मागदाबी, जुत्ताको कारोबारमा एउटा मुद्दामा तीन जनाविरुद्ध १० करोड ८२ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दायर गरिएको छ।
भारतीय यात्रु बसमा फल्स बटम बनाएर औषधी ल्याएर राजस्व छली गरेको अभियोगमा एउटा मुद्दामा ५ जनाविरुद्ध ५ करोड ८ लाख रुपैयाँ बराबरको तथा अन्य १२ वटा मुद्दामा ३५ जनाविरुद्ध २१ करोड ७६ लाख रुपैयाँ बराबरको मुद्दा दायर गरिएको छ।
महानिर्देशक घिमिरे आफ्नो कार्यकालमा कुनै पनि निर्दोष व्यापारीलाई दुःख नदिएको बताए। महानिर्देशक घिमिरेले भने, ‘विभागले दायर गरेका सबै मुद्दा उच्च अदालतले सदर गरेको छ। मेरै कार्यकालमा मुद्दामा अनुसन्धान, अभियोजन र फैसला पनि आयो। यसलाई सफलता ठानेको छु।’