काठमाडाैं। महोत्तरीकाे मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा बस्तीका सडकमा तीवै गतिमा कालोपत्र भइरहेको छ। विकासको अवसरबाट पर रहेका यहाँका सर्वसाधारण बस्तीमा धमाधम सडक कालोपत्र हुन थालेपछि खुसी भएका छन्।
“देखियौँ, हमरो गाममें सडक पिच बैनरहल अई” (हाम्रो बस्तीको सडक पनि कालोपत्र हुँदैछ) धमाधम कालोपत्रे भइरहेको सडकतिर देखाउँदै मटिहानी-४ का चन्देश्वर रजकले भने, “आब गामक रुख बदैलगेल” (अब बस्तीको रूप बदलियो)। सडक कालोपत्र हुन थालेपछि यी बस्तीका बासिन्दा खुसी देखिन थालेका छन्।
बिसनपुरका इशाक कवारीले भने, “इन्तजार कर परैछै, सबके दिन अबैछै” (पर्खन पर्दो रहेछ, सबका दिन आउँदा रहेछन्)। कालोपत्र हुन थालेपछि बस्तीको सौन्दर्य बढेसँगै आफूहरूको जीवन सहज हुने उनले विश्वास व्यक्त गरे। गोबरौराका शिव साहले सडक कालोपत्र भएसँगै कृषि उपज बजारसम्म पुर्याउन सहज हुनुका साथै व्यापार बढ्ने बताए।
संघीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी–४ को मझौरा प्रवेशद्वारबाट बिसनपुर हुँदै मटिहानी–५ को गोबरौरासम्मको चार किलोमिटर सडकमा कालोपत्र गर्न थालिएपछि बस्तीका बासिन्दा खुसी छन्।
कृषि उत्पादन सजिलै बजार पुग्ने र आपत्विपद्मा शीघ्र गन्तव्यमा पुगिने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। कालोपत्र सम्पन्न भएपछि करिब १५ हजार जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए।
सहरी विकास तथा भवन निर्माण विभागले करअतिरिक्त नगरपालिकालाई उपलब्ध गराएको २७ करोड ९९ लाख ७४ हजार ५७७ मध्ये मझौरा–बिसनपुर–गोबरौरा सडक कालोपत्रमा चार करोड खर्च हुने नगर कार्यपालिकाका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए। सडक विस्तार तथा कालोपत्र अन्य वडाबस्तीमा पनि गर्दै जाने उनको भनाइ छ।