काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी-रिन डाईभर्सन बहुउदेश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन्।
पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको बताए। उनले बाँकी कामका लागि कार्य तालिका मागेर द्रुत गतिमा अगाडि बढाउन खोजिएको बताएका थिए।
‘गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्याएको इन्सुरेन्स नपाएको कारण आयोजना केही ढिलाई हुन पुगेको पाइन्छ, हामीले ‘वर्क सेडुल’ मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ,’ मन्त्री खड्काले भने।
उनले सुनकोशी-मरिन आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाबारे जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्नका लागि फाइदा पुग्ने बताएका थिए।
उर्जामन्त्री खड्काले पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत विधेयक, २०८० र नविकरणीय उर्जा तथा उर्जा दक्षता विधेयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गरे।
उनले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत वक्यौता उठाउनका लागि समिति बनाएर छानविन गरिरहेको बताए। प्रयोग गरेको विद्युतको विल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाइ थियो।