काठमाडौं। पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड भासिएको छ। भसिएको खण्डमा मालवाहक ट्रक फसेपछि यातायात पूर्ण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी प्रहरीले जनाएको छ।
दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको हो।
सडक भासिएको ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातीदेखि यातायात सञ्चालन अवरुद्ध छ।
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधन बर्दघाटको टिसिएनचोक र पूर्वबाट आएका सवारीसाधन दुम्किबासमा रोकिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।
पहिरोले कालीगण्डकी करिडोरमा अवरोध
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। म्ंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने उनको भनाइ छ। केही स्थानमा सडक भासिएको छ।
खहरे खोलामा बाढी आउँदा बीपी राजमार्ग अवरुद्ध
काभ्रेको रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा लेदोसहितको बाढी आएपछि बीपी राजमार्ग अरुद्ध बनेको छ। आज बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई राखिएको सिन्धुली प्रहरीले बताएको छ।
गत असोज १० को बाढीले बीपी राजमार्ग क्षतिग्रस्ता बनाएको थियो। उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान गरेको थियो। अहिले अस्थायी तरिकाले सञ्चालन गरिँदै आएकामा खोलाखोल्सीमा बाढी आउनासाथ सडक अवरुद्ध भई सवारी आउजाउ रोकिने गरेको छ।