काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न स्थानमा वर्षापछि आएको बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको विवरण सार्वजनिक गरेको छ।
राजमार्ग अवरुद्ध बनेसँगै सार्वजनिक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रुसमेत बिचल्लीमा परेका छन्।
कार्यालयका अनुसार नवलपरासीस्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड, संखुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्ति लोकपथ, बीपी राजमार्ग, म्याग्दीस्थित दरवाङ सडक अवरुद्ध भएको छ।
यस्तै, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।
बाढीपहिरोका कारण अवरुद्ध बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
