काठमाडौं। नेपालको पहिलो मोबाइल निर्माता कम्पनी नोकिया ब्रान्ड मोबाइल फोन र बोट ब्रान्डका उत्पादन बिक्रेता टेलिटक प्रालिको व्यापार करिब ४० प्रतिशतले घटेको छ।
दशकअघिसम्म विश्व बजारमा आधिपत्य जमाएको नोकिया मोबाइल नेपालमा बिक्री गर्ने टेलिटको व्यापार एक वर्षमै ३९ प्रतिशतले खुम्चिएर सन् २०२४ मा ५४ करोड ९० लाख रुपैयाँ सीमित भएकोे हो।
कम्पनीले सन् २०२३ मा ९० करोड र सन् २०२२ मा १ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीको दुई वर्षको बीचमा व्यापार ६१.४२ प्रतिशतले घटेको हो।
कम्पनीले ५७ करोड ४६ लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा गराएको रेटिङअनुसार अघिल्लो पटकभन्दा रेटिङ खस्किएको छ। यसमा १८ करोड ६६ लाख दीर्घकालीन कर्जाको रेटिङ ‘डबल बी माइनस’बाट घटेर ‘बी’ भएको छ भने ४६ करोड ४० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘ए फोर’ यथावत् राखिएको छ।
साथै, इन्फोमेरिक्सले रेटिङलाई ‘इस्यूअर नट को–अपरेटिङ’ वर्गबाट हटाएको छ। ‘बी’ रेटिङले लामो समयको वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम र ‘ए फोर’ रेटिङले छोटो अवधिको ऋण तिर्न सक्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्छ। इन्फोमेरिक्सको रेटिङ रिपोर्टअनुसार कम्पनीले ५७ करोड ४६ लाख बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराए पनि सिद्धार्थ बैंकबाट कर्जा दिँदा जुनसुकै समय अवधिको कर्जा २० करोड ३८ लाख रुपैयाँ बढी हुन नहुने उल्लेख छ।
बैंक सुविधि र रेटिङ घट्नुको मुख्य कारणमा कम्पनीको पछिल्ला वर्षमा देखिएको व्यापार, नाफा र अन्य वित्तीय कार्यसम्पादनमा आएको गिरावट हो। आफैं विकास गरेको ‘कलर्स’ ब्रान्डले बजारमा राम्रो व्यापार नगर्दा समग्र कम्पनीको आम्दानीमा दुई वर्षमै ६१ प्रतिशतले गिरावट आएको छ।
टेलिटकले हाल यो ब्रान्ड बन्द गरेको छ। दुई वर्षबीचमा कलर्स फोनको बिक्री करिब ४८ प्रतिशतले घटेको रेटिङ रिपोर्टमा उल्लेख छ। यसले गर्दा टेलिटकले आफ्ना डिलरसिप आउटलेट सन् २०२१ मा ८१ वटाबाट सन् २०२४ सम्म आइपुग्दा ६० वटामा झारेको छ। टेलिटकको व्यापारमा ठूलो गिरावटसँगै कम्पनी सञ्चालनका लागिसमेत बैंकिङ कर्जामा निर्भर हुनुपरेको छ।
टेलिटकले टेक्नोलोजिज् रिस्कलाई प्राथमिकतमा राखेर व्यापार विस्तार गर्न नसक्दा घाटा खेप्नुपरेको हो। स्मार्ट फोन र वेयरेबल उत्पादनको उत्पादन जीवनचक्र छोटो अवधिको हुन्छ। बजारमा आएका अन्य स्मार्ट फोन निर्माता कम्पनीले परिवर्तित प्रविधि प्रयोग गरेर फोन निर्माण गरे पनि टेलिटकले गर्न सकेको छैन। सोही कारण कलर्स फोन सन् २०२४ मा बन्द गरेर हाल नोकिया र बोटमार्फत मात्रै आफ्नो व्यवसाय अघि बढाइरहेको छ।
यद्यपि टेलिटकमा रमेश कर्पजस्ता अनुभवी प्रवर्द्धक तथा व्यवस्थापक भएकाले व्यवसाय अघि बढाउन सहयोग पुगेको छ। रमेश कर्पले नेपालमा उत्पादनलगायत अन्य व्यावसायिक क्षेत्रमा लगानी गरेको छ। टेलिटक नेपालको पहिलो मोबाइल निर्माता कम्पनी हो।
सन् २००८ मा स्थापित यो कम्पनीले सन् २०११ देखि नेपालभर नोकिया फोन बिक्री सुरु गरेको थियो। टेलिटकमा रोहित गुप्ता, प्रतीक जालान र सञ्जय अग्रवालको मुख्य लगानी छ।