काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा बढेको ढुवानी लागतका कारण बजारमा महँगी बढ्ने सम्भावना देखिएको छ। देशभरका सडकको दयनीय अवस्था र ट्राफिक जामले ढुवानीमा लाग्ने समय र खर्च दोब्बरभन्दा बढी भएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
यो वर्ष चाडपर्व छिटो परेको र वर्षायाम जारी छ। बाटोको समस्या विकराल छ। ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधव प्रसाद नेपालले सडक खराबीका कारणले ढुवानी लागत बढ्ने बताए। ‘जहाँ गए पनि बाटोको समस्या छ। जताततै जामको समस्या छ,’ उनले भने, ‘पूर्वपश्चिम राजमार्गमा त झन् ढुवानीमा समस्या भनिसाध्यै छैन।’
उनका अनुसार यसअघि बुटवल, भैरहवा वा वीरगञ्जबाट बिहान लोड गरिएका सामान भोलिपल्ट बिहान काठमाडौं आइपुग्ने अवस्था थियो। तर, अहिले तीनदेखि चार दिनसम्म समय लाग्ने गरेको अध्यक्ष नेपाल बताउँछन्। यसले चालक र सहचालकको दैनिक खर्चमा ठूलो वृद्धि भएको छ।
‘एउटा ट्रकको चालक र सहचालकको खाना खर्च मात्रै दैनिक ३ हजार रुपैयाँसम्म पुगेको छ,’ नेपालले भने, ‘यसले वीरगञ्ज वा भैरहवाबाट काठमाडौं सामान ढुवानी गर्दा ३० देखि ३५ हजार रुपैयाँ लाग्ने ठाउँमा थप १२ हजारसम्म खर्च बढेको छ।’
दसैंको समयमा घर फर्किने यात्रुका लागि प्रमुख राजमार्गहरूको अवस्था चिन्ताजनक देखिएको छ।
बढेको यो खर्च व्यापारीले सामान बेच्दा जोड्ने हुँदा सीधै सामानको मूल्य बढ्न जान्छ। यसको मार उपभोक्तामा पर्ने उनको भनाइ छ। चाडपर्वमा बढ्ने सामानको मागको चाप र बढेको ढुवानी लागतले बजार भाउ बढ्ने निश्चित जस्तै देखिएको छ।
दसैंको समयमा घर फर्किने यात्रुका लागि प्रमुख राजमार्गहरूको अवस्था चिन्ताजनक देखिएको छ। बीपी राजमार्ग, गल्छी-रसुवागढी सडक, अरनिको राजमार्ग र नारायणगढ-मुग्लिन सडक खण्डमा बाढी, पहिरो र सडक मर्मतका कारण यात्रा जोखिमपूर्ण बनेको छ।
बीपी राजमार्ग
सडक विभागका अनुसार बीपी राजमार्गमा गत वर्ष आएको बाढीले करिब १२ किलोमिटर सडकमा क्षति पुर्याएको थियो। यस राजमार्गलाई दसैंका लागि खुला राख्ने योजनाअन्तर्गत निर्माण कम्पनीहरूले अस्थायी मर्मत र द्रुत प्रतिक्रिया टोली परिचालन गरेको विभागका उप-महानिर्देशक तथा प्रवक्ता ई.प्रभात कुमार झाले बताए।
रातको समयमा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रु तथा निजी सवारी साधनलाई सञ्चालन गर्न प्रतिबन्धसमेत लगाइएको छ। सडक विभागले यस खण्डलाई जुलाई २०२७ सम्म दुई लेनको बनाउने लक्ष्य राखेको छ। विभागले सडकका विभिन्न स्थानमा रकनेट, रक बोल्ट, रक फेन्स जस्ता प्रविधिबाट पहिरो नियन्त्रण गर्ने योजना बनाएको उनले बताएका छन्।
गल्छी-रसुवागढी सडक
भोटेकोशी नदीमा आएको बाढीले गर्दा गल्छी-रसुवागढी सडकको ठूलो खण्ड क्षतिग्रस्त भएको छ। हाल यस सडकमा हलुका सवारी साधनका लागि एकतर्फी यातायात सञ्चालनमा आएको छ।
अरनिको राजमार्गमा बाढी र पहिरोका कारण केही समय यातायात अवरुद्ध भएको छ। विभागका अनुसार हाल यो राजमार्ग सञ्चालनमा छ।
तर, प्रमुख मर्मत कार्य दसैंअगाडि सम्पन्न हुने गरी कार्य भइरहेको प्रवक्ता झाले बताए। जुलाई ८ मा बाढीले मितेरी पुल बगाएपछि चीन र नेपालबीचको नाका अवरुद्ध भएको थियो।
अरनिको राजमार्ग
अरनिको राजमार्गमा बाढी र पहिरोका कारण केही समय यातायात अवरुद्ध भएको छ। विभागका अनुसार हाल यो राजमार्ग सञ्चालनमा छ। यसलाई दसैंमा खुला राख्नका लागि लोडर, चेन एक्काभेटर, टिप्परलगायत उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
चितवन-काठमाडौं सडक (नारायणगढ-मुग्लिन सडक)
चितवन-काठमाडौं (नारायणगढ-मुग्लिन सडक) सडक खण्डमा मनसुनका कारण पहिरो जाने र सडक अवरुद्ध हुने क्रम जारी छ। जिल्ला प्रशासन कार्यालयले जोखिमका कारण बेला-बेलामा यस सडक बन्द गर्ने गरेको छ।
दसैंमा सडकलाई खुला राख्नका लागि दुई स्थान (मुग्लिन र सेती दोभान)मा लोडर, ब्याक हो लोडर, एक्काभेटर, ट्रेलर र टिप्परलगायत उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
स्याफ्रुवेशी-रसुवागढी सडकको टिमुरे सडक खण्ड
गत असार २४ र श्रावाण १४ गतेको अकस्मात बाढीले रसुवा जिल्लाको गल्छी-त्रिशुली-स्याफ्रुवेशी-रसुवागढी सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो। गल्छी-त्रिशुली-मैलुङ खण्डमा करिब एक सय मिटर र मैलुङ–स्याफ्रुवेशी खण्डमा करिब ७ सय मिटर सडक पहिरो र नदी कटानबाट क्षतिग्रस्त भएको थियो।
स्याफ्रुवेशी-रसुवागढी खण्डमा करिब १८ स्थानमा एक हजार ७ सय मिटर सडक अवरुद्ध भएको थियो। विभागीय मेसिन र उपकरण प्रयोग गरी कटान भएको ठाउँमा नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर भइरहेको प्रवक्ता झाले बताएका छन्। कठिन भूगोल तथा वर्षातका कारण काम चुनौतीपूर्ण भए पनि करिब १० दिनभित्र यातायात पूर्ण रूपमा सञ्चालन हुने सम्भावना रहेको उनको तर्क छ।
खाल्डाखुल्डी मर्मतका लागि ठेक्का प्रक्रियामार्फत नियमित मर्मत सम्भारअन्तर्गत कंक्रिट प्रयोग गरी सडक सुरु गर्ने विभागको तयारी छ।
खाल्टे क्षेत्रमा त्रिशुली नदीले सडक तथा स्थानीय घर जग्गा कटान गरेको स्थानमा ढुङ्गा भराई गरी भाद्र ५ देखि एकतर्फी यातायात सञ्चालन भएको छ। स्याफ्रुबेँशी-रसुवागढी सडक खण्डमा करिब १३ किलो मिटर सडक यातायातका लागि खुला भइसकेको छ। टिमुरेदेखि रसुवागढी मितेरी पुलसम्म दुई स्थानमा करिब १५० मिटर सडकमा नयाँ ट्रयाक बनाउने काम जारी रहेको विभागले जनाएको छ।
रसुवागढी नाकामा निर्माण हुने मितेरी पुलको लागि चीनतर्फ बेलिब्रिज जडान तथा जग निर्माणको काम भइरहेको भए पनि नेपालतर्फको बेलिब्रिजको जग बनाउने कार्य हालसम्म सुरु हुन सकेको छैन। विभाग निरन्तर कटान रोक्ने र सडक पुनः संचालनका लागि प्रयासरत रहेको प्रवक्ता झाको भनाइ छ।
खाल्डाखुल्डी मर्मतका लागि ठेक्का प्रक्रियामार्फत नियमित मर्मत सम्भारअन्तर्गत कंक्रिट प्रयोग गरी सडक सुरु गर्ने विभागको तयारी छ। मर्मत सम्भारका लागि सरकारले चालू आर्थिक वर्षमा करिब १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ। विभागले काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुलाई सहज बनाउन दसैंका बेला राजमार्ग सुधार गर्ने प्रयासरत छ।