काठमाडौं। सन् २०२५ को ८ महिनामा नेपालमा कार आयातको शीर्ष स्थानमा हुन्डाई रहेको छ। ८ महिनाको अवधिमा हुन्डाई ब्रान्डका १ हजार २७० युनिट कार नेपाल भित्रिएका छन्। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनवरीदेखि अगस्टसम्म प्यासेन्जर सेग्मेन्टको कुल आयातमा १४.२७ प्रतिशत हिस्सा ओगटेको देखिएको छ।
बलियो ब्रान्ड छविसहित विभिन्न मोडलको गाडी इन्ट्री र ग्राहकको विश्वासले गर्दा हुन्डाईले आयातमा अग्रता लिन सफल भएको हो। सन् २०२५ को ८ महिनासम्म करिब ९ हजार प्यासेन्जर सेग्मेन्टका सवारी साधन नेपाल भित्रिएका छन्। सवारी साधन आयातको तथ्यांक हेर्दा सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ हजार ९०१ युनिट प्यासेन्जर सेग्मेन्टका सवारी साधन नेपाल भित्रिएका हुन्।
सन् २०२५ को ८ महिनाको अवधिमा अप्रिल र मे महिनामा सबैभन्दा धेरै आयात भएका छन्। विद्युतीय र आईसीई इन्जिन दुवै गरी प्यासेन्जर सेग्मेन्टमा सन् २०२५ को जनवरीमा ६९३ युनिट कार आयात भएको थियो। दोस्रो महिना फेब्रुअरीमा ७१९ युनिट, मार्च महिनामा ९८५ युनिट आयात भएको छ।
अप्रिलमा १ हजार ३१० युनिट आयात भएकोमा मे महिनामा बढेर ४ हजार १४२ युनिट आयात भएको छ। जुन महिनामा आयात घटेर ३१७ युनिट सवारी साधन भित्रिएको छ। जुलाईमा ४६२ युनिट र अगस्ट १६ सम्ममा २७३ युनिट कार भित्रिएका छन्। तथ्यांकअनुसार यस अवधिमा नेपालमा प्यासेन्जर सेग्मेन्टको आयातमा हुन्डाईले आफ्नो दबदबा कायम राखेको छ। सन् २०२५ को ८ महिना (जनवरीदेखि अगस्ट १६) सम्मको सवारी साधन आयातको तथ्यांकमा हुन्डाई पहिलो स्थानमा रहेको छ।
विगत लामो समयदेखि हुन्डाईले नेपालको बजारमा राम्रो हिस्सा ओगटिरहेको छ। यससँगै पछिल्लो समयमा विद्युतीय गाडी बजारमा तीव्र गतिमा अगाडि बढिरहेका बिवाईडी र एमजीबीच दोस्रो र तेस्रो स्थानका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ।
सन् २०२५ को ८ महिना (जनवरीदेखि अगस्ट १६) सम्मको सवारीसाधन आयातको तथ्यांकमा हुन्डाई पहिलो स्थानमा रहेको छ।
विद्युतीय गाडी उत्पादनमा अग्रणी बिवाईडीको यस अवधिमा १ हजार १७३ युनिट कार नेपाल भित्रिएको छ। बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त संख्यामा कार आयात गरेको हो। यस अवधिमा आयात भएका प्यासेन्जर सेग्मेन्टमा बिवाईडीले १३.१८ प्रतिशत बजार हिस्सा ओगटेको छ।
तेस्रो स्थानमा रहेको एमजीले कुल आयातको १२.९२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सन् २०२५ को ८ महिनाको अवधिमा १ हजार १५० युनिट गाडी नेपाल भित्र्याएको छ।
चौथो स्थानमा रहेको टाटाले कुल आयातको १०.१८ प्रतिशत हिस्सा ओगटेको छ। जनवरीदेखि अगस्टबीचसम्ममा नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ९०६ युनिट कार नेपाल भित्र्याएको हो।
यस अवधिमा डोङफेङ नामीको कुल आयातको ७.४९ प्रतिशत हिस्सा रहेको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यस अवधिमा नामी ६६७ युनिट नेपाल भित्र्याएको छ।
यसैगरी, मारुती सुजुकी ५४४ युनिट, डिपल ३६१ युनिट, किया ३३२ युनिट, लिपमोटर ३१८ युनिट, काई २४४ युनिट, प्रोटोन २०२ युनिट, जिएसी आयोन ब्रान्ड २०१ युनिट, ओमोडा १९९ युनिट, निसान १५० युनिट, टोयोटा १४५ युनिट, जेक्को १०५ युनिट, महेन्द्रा ९५ युनिट, सेरेस ८४ युनिट, एक्सपेङ ८२ युनिट आयात भएका छन्।
यसअवधिमा नै स्काईवेल ८० युनिट जेएम ईभी ७४ युनिट, सिट्रोन ७० युनिट दायुन ६० युनिट, जिकर ४० युनिट, बिएडब्लुको ब्रम्बी ३९ युनिट, बिएमडब्लु ३८ युनिट, हेनरी भोल्टस ३७ युनिट, स्कोडा २८ युनिट, फोक्सवागन २७ युनिट, ग्रेटवाल मोटर्स २३ युनिट, होन्डा २१ युनिट, स्मार्ट १५ युनिट, मित्सुबिसु १४ युनिट, जिली १२ युनिट, इनहु १२ युनिट आइएम सिक्स १० युनिट आयात भएका छन्। त्यस्तै, अन्य टेस्ला, फरथिङ, पोर्से, ल्यान्ड रोभर, जिप, फोर्ड, सुवारु, वुलिङ, एलएस अटो, माज्दा, म्याक्ससलगायतका ब्रान्ड ७३ युनिट आयात भएका छन्।
