काठमाडौं। सडक निर्माणमा यस आर्थिक वर्षको बजेट खर्च ७५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ। हालसम्मको तथ्यांकअनुसार ७० प्रतिशत खर्च भइसकेको सडक विभागले जनाएको छ।
सडक निर्माणका लागि यसवर्ष करिब १ खर्ब २५ अर्ब रुपैयाँको हाराहारीमा बजेट विनियोजन गरिएको थियो। यसमध्ये असार २४ गतेसम्म ७० प्रतिशत अर्थात ८७ अर्ब ५० करोड खर्च भइसकेको विभागका प्रवक्ता तथा उप–महानिर्देशक ई.प्रभातकुमार झाले बताए।
उनले भने, ‘हाम्रो लक्ष्य ८० प्रतिशत पुर्याउने हो, हिजोसम्म ७० प्रतिशत भएको अपडेट छ, ७५ प्रतिशतभन्दा बढी खर्च हुन्छ नै।’
गत आर्थिक वर्षमा करिब ६–७ अर्ब रुपैयाँ भुक्तानी हुन नसकेको अवस्थामा यसवर्ष भने भुक्तानी प्रक्रिया सहज भएको उनकाे भनाइ छ। खर्चको भुक्तानीमा ढिलाइ हुनुका विभिन्न कारणहरू छन्, जसमा कार्य बजेट अपुग हुनु, रकमान्तरमा ढिलाइ हुनु र चेक काट्न समय लाग्नुपर्ने जस्ता प्रक्रियागत झन्झटहरू मुख्य हुन्।
एक महिनासम्म चेक काट्न लाग्ने समयका कारण काम सम्पन्न भएपनि भुक्तानीमा ढिलाइ हुने गरेको गुनासो छ। यद्यपि, यसवर्ष अर्थ मन्त्रालय र सडक विभागबीचको समन्वयमा सुधार आएकाले भुक्तानी प्रक्रिया गत वर्षभन्दा सहज भएको उनले बताए।
सडक निर्माणको खर्च ९० भन्दा बढी कार्यालयहरूबाट हुने गर्दछ। यी कार्यालयहरूबाट गरिएका भुक्तानीको सम्पूर्ण विवरण संकलन गर्न समय लाग्ने गर्दछ। सामान्यतयाः साउन १०–१५ गतेसम्ममा सम्पूर्ण प्रगति विवरण र खर्चको यथार्थ तथ्यांक संकलन गरी सार्वजनिक गरिने विभागको लक्ष्य छ। यसवर्ष समयमै डिभिजन कार्य र मन्त्रालयहरूको समन्वयका कारण गत वर्षभन्दा राम्रो प्रगति हुने अपेक्षा गरिएको छ।