काठमाडौं। नेपालको झन्डै ११ प्रतिशत जनसंख्या अझै पनि टुजी सेवामा आश्रित हुनुपरेको तथ्यांकले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको १० दशमलव ९७९ प्रतिशत अर्थात ३२ लाख १ हजार ५४३ जनाले टुजी नेटवर्कको प्रयोग गर्ने गरेका हुन्।
२०८१ जेठमा कुल जनसंख्यामध्ये १४ लाख ६६ हजार ७७० जनाले टुजी नेटवर्क प्रयोग गर्दै आएका थिए। यसवर्ष बढेर ३२ लाख नाघेको हो।
त्यसैगरी, कुल जनसंख्याको २ दशमलव ९८३ प्रतिशत (८ लाख ६९ हजार ८५९) नेपालीले मात्रै थ्रीजी सेवा लिएका छन् भने ८७ दशमलव ३७५ प्रतिशत (२ करोड ५४ लाख ८२ हजार ६४७ जना) ले फोरजी सेवा प्रयोग गर्छन्। गतवर्ष थ्रिजी प्रयोगकर्ता २५ दशमलव २७ प्रतिशत र ७७ दशमलव ०५ प्रतिशत जनसंंख्या फोरजी नेटवर्कमा थिए।

पछिल्लो समय नेपालका दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले फोरजीलाई प्राथामिकतामा राख्दा तथा टेलिकम कम्पनीले टुजी र फोरजी एउटै ब्याण्डविथ (१८०० मेगाहर्ज) बाट सेवा दिएकाले थ्रीजी प्रयोगकर्ता घट्दै गएका हुन् भने टुजी नेटवर्कका प्रयोगकर्ता बढ्दै गएका हुन्।
त्यस्तै, गतवर्ष ४३ दशमलव ३८ प्रतिशत रहेको फाइबर नेटवर्क पहुँच ४ दशमलव २३ प्रतिशतले बढेर हाल ४७ दशमलव ६१० प्रतिशत जनसंख्यामा पुगेको छ। प्राधिकरणकाअनुसार यो तथ्यांक नेपालको कुल जनसंख्या (जनगणना २०७८) २ करोड ९१ लाख ६४ हजार ५७८ लाई आधार मानेर तयार पारिएको हो।
नेपाल टेलिकमलाई पछि पार्दै डिसहोम दोस्रो सेवा प्रदायक
प्राधिकरणको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायकतर्फ वर्ल्डलिंक सबैभन्दा धेरै ग्राहक बनाउँदै देशकै ठूलो सेवा प्रदायक यसअघि दोस्रो स्थानमा रहँदा नेपाल टेलिकमलाई पछि पार्दै डिसहोम दोस्रो सेवा प्रदायक बनेको छ।
१० लाख ७ हजार ७६२ ग्राहक पुर्याउँदै ३१ दशमलव ४२ प्रतिशत बजार हिस्सा कब्जा गर्दा डिसहोमले ३ लाख ५६ हजार ७६५ ग्राहक बनाउँदै ११ दशमलव १२ प्रतिशत बजार बनाएको छ। नेपाल टेलिकमले ३ लाख ५२ हजार ४८४ ग्राहकसहित ११ प्रतिशत बजार पाएको छ।
गतवर्षको सोही अवधिमा ९ लाख १२ हजार २९६ ग्राहक भएको वर्ल्डलिंकले एक वर्षमा ९५ हजार ४६६ ग्राहक बढाएको छ। त्यस्तै, ३ लाख १२ हजार २२८ ग्राहक भएको नेपाल टेलिकमले यो अवधिमा जम्मा ४० हजार २५६ नयाँ ग्राहक थपेको छ। गतवर्ष ३ लाख १२ हजार ६१३ ग्रहक भएको डिशहोले पछिल्लो एक वर्षमा ४४ हजार १५२ नयाँ ग्राहक थपेको छ।
