काठमाडौं। सञ्चालनमा आएको करिब तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक साथ तीन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने निश्चित भएको छ।
अर्बौं रुपैयाँमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नभएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको चौतर्फी विरोध भइरहेको अवस्थामा तीन वटा एयरलाइन्सले उडान भर्ने निश्चित भएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगनाथ निरौलाले हाल हिमालय एयरलाइन्सले साताको एक उडान नियमित गरिरहेको र बाँकी दुई एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको जानकारी दिए।
हाल हिमालय एयरलाइन्सले साताको एक उडान (हरेक सोमबार) पोखरा‑ल्हासा‑ल्हासा‑पोखरा उडान गर्दै आएको छ। हरेक सोमबार पोखरा‑ल्हासा उडान गर्ने र सोमबार बेलुका ल्हासाबाट पोखरा आएर एक रात बसेर मंगलबार बिहान पुनः ल्हासा उडान गर्दै आएको छ।

सिचुवान एयरलाइन्सले पनि पुनः पोखरा‑छेन्दु उडान सुरु गर्न थालेको छ। करिब दुई महिनाअघि वर्षातको समयमा यात्रु नभएको भन्दै उडान रोकेको सिचुवानले पुनः उडान गर्ने तयारी थालेको महाप्रबन्धक निरौलाले जानकारी दिए। यस्तै सिचुवान एयरलाइन्सले चीनको चङ्तु हुँदै अष्ट्रेलिया उडानको तयारी गरेको छ।
उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको छ। आगामी सेप्टेम्बर महिनादेखि उडान गर्ने कम्पनीको योजना रहेको जनाएको छ।
सेप्टेम्बर २८ देखि भुटानको भुटान एयरलाइन्स (टासी एयर)ले अक्टोबर ६ सम्म चार वटा चार्टर उडान गर्ने तयारी गरेको छ। यस्तै, अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि पोखरामा उडानका लागि चासो देखाइरहेको छ।
पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय उडानहरु नियमित हुँदा त्यहाँको पर्यटकीय गतिविधिमा चहलपहल हुने सम्भावना बढेको महाप्रबन्धक निरौलाको भनाइ छ। विश्वका जुनसुकै मुलुकका विमानस्थल सञ्चालनमा आएलगत्तै सञ्चालन हुन केही समय लाग्ने र सुरुवातमा चार्टर उडान हुने भएकाले अहिले एयरलाइन्सहरुले देखाएको चासोलाई सकरात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले एकपछि अर्को अन्तर्राष्ट्रिय उडान गर्न एयरलाइन्सले देखाएको चासोले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा राखिएको बताए।
‘अन्तर्राष्ट्रिय उडान नभएर सुनसान भएको विमानस्थलमा एकपछि अर्को एयरलाइन्सले उडान तयारी गर्नु भनेको विमानस्थल भाइब्रेन्ट हुनु हो,’ पूर्व अध्यक्ष श्रेष्ठले भने, ‘पर्यटन व्यवसायी र पोखराबासीको तर्फबाट सक्दो सहयोग गर्न तयार छौँ।’
