काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौंमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा यससम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच-काठमाडौंको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ।
कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने बताए।
यस्ता परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने र आगामी दिनमा पनि निजी स्तरबाट यस किसिमको परियोजनाहरूको सफल कार्यान्वयन गर्न सकिएको खण्डमा नेपालका दूरदराजका आम नागरिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। यस परियोजनामा नेपाल लाइफ जोडिन पाउँदा आफू गौरवान्वित भएको बताए।
कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताएका थिए। नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउनका निम्ति सुरुवात गरिएको यस परियोजनाका लागि सबैलाई बधाई तथा शुभकामना ज्ञापन गरे।
बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि राजधानीलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माणार्थ आगामी दिनमा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिए। बालबालिकाको स्वास्थ्य उपचारका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक करोडको सहयोग प्रदान गरिएको र यसले न्यून आर्थिक अवस्था भएका बालबालिकाले विशिष्टिकृत अस्पतालमा विशिष्टीकृत चिकित्सकहरूबाट उपचार प्राप्त गर्नेमा आफू विश्वस्त रहेको समेत बताए।
कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताए। साथै नेपाल लाइफले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुनेमा आशावादी रहेको बताएका थिए।
किओच बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर वृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको कुरा डा. कोइरालाले बताए।
यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच-दमक बाल अस्पताल स्थापना भई सेवा शुरू भएको छ। यस अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु भइसकेको छ।