कैलाली। खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त आयोजना कर्णाली प्रदेशका दुई स्थानीय तह वीरेन्द्रनगर नगरपालिका र शारदा नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह दिपायल सिलगढी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा कार्यान्वयन हुने खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार खानेपानीमन्त्री प्रदीप यादव तथा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको सहभागिता धनगढीमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सम्बन्धित स्थानीय तहमा लागत सहभागिता सुनिश्चित गर्न, कार्यान्वयनको प्रभावकारी अनुगमन तथा प्रतिवेदन व्यवस्थापन गर्न संघीय खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच सहकार्यका लागि समझदारी गरिएको सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
खानेपानीमन्त्री यादवले सहकार्यले खानेपानी क्षेत्रमा पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा थप पारदर्शिता र प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे। उनले भने, ‘सहकार्यका लागि सम्बन्धित सबै तह, निकाय र साझेदारलाई धन्यवाद दिन चाहन्छु।’
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन गर्न अन्तरराष्ट्रिय विकास संस्था (आइडीए) र नेपाल सरकारबीच वित्तीय सम्झौता भएको छ। आयोजनाको अवधि सन् २०२८ जुलाई १५ सम्म छ।–रासस