काठमाडाैं। झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसापनी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो। सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो। तर, सडक निर्माणले पूर्णता पाउन भने सकेको छैन।
स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय छ। ३३ किलोमिटरको यो सडकको अहिले रतुवा नदीको तिरैतिर ट्र्याक खोलिएको छ। जहाँ हिउँदमा धुलो र वर्षामा हिलोले यातायात र जनजीवन दुवै अस्तव्यस्त बनाइरहेको छ। सडक कालोपत्र नहुँदा बर्खामा मुस्किलले दमकदेखि चिसोपानीसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ।
दमक–चिसापनी सडक झापा र इलामलाई जोड्ने महत्वपूर्ण पहुँच मार्ग हो। झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने र कृषि उत्पादनलाई बजासम्म पुर्याउने यो सडक निर्माण ढिलाइले स्थानीयवासी आक्रोशित छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्वसंविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता नपाउँदा नेतृत्वको आलोचना हुँदै आएको छ।
सो सडक निर्माणमा सरकारले लगानी नगरेको भने होइन। पटक–पटक गरी अबौंँ लगानी भइसकेको छ। तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम नगरेकाले सडक निर्माणले पूर्णता पाउन नसकेको सडक डिभिजन दमकले जनाएको छ।
३३ किलोमिटर दुरी कालोपत्र गर्ने गरी ठेक्का लगाएको सात वर्ष वितिसक्यो। तर, काम भने आधा पनि भएको छैन। ट्र्याक चौडा र कालोपत्र गर्ने गरी सडक डिभिजन दमकले तीन खण्डमा ठेक्का लगाएको थियो।
तीन वर्षमा काम पूरा गर्नेगरी लगाएको ठेक्काको म्याद पटक–पटक थप्दासमेत ठेकेदार कम्पनीले काम नगरेपछि सडक अलपत्र परेको छ। पहिलो खण्डअन्तर्गत दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन २९ गते सम्झौता गरेको थियो। २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको थियो। रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्र मात्र गर्ने सो निर्माण कम्पनीको जिम्मा थियो।
तर, चार पटक म्याद थपिँदासमेत कालोपत्र सकिएको छैन। अन्तिम पटक थपिएको म्याद २०८० साल असार मसान्तसमा सकिएको थियो। अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख श्यामकुमार यादवले बताए।