काठमाडौं। काठमाडौं महानगरको सरकारी मूल्यांकनअनुसार सबैभन्दा महंगो जग्गा प्रतिआना ५० लाख रुपैयाँ कामय गरेको छ। महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक ऐनअनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना कायम गरेको हो।
यति महंगो जग्गा दरबारमार्गको दायाँ बायाँसहित माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गा छन्। काठमाडौं महानगर सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको मूल्य कायम गरेको हो।
प्रतिआना ५० लाख मूल्य तोकिएको जग्गा भएका क्षेत्रहरु जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गा पनि रहेका छन्। यस्तै केशर महल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको सरकारी मूल्य पनि ५० लाख प्रतिआना रहेको छ।
रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको पनि सोही मूल्यांकन गरिएको छ।
हनुमान ढोका पूर्व नयाँ सडक, पुरानो काठमाडौं महानगर भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौं महानगरको भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गालाई पनि आनाको ५० लाख मूल्यांकन छ।