काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वसँग सेयर बजारको पछिल्लो ओरालायात्राबारे छलफल गरेको छ। आज सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसद सदस्यले उठाएका पुँजीबजार, बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीसँग सम्बन्धित उठाएका विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन सेबोन नेतृत्वलाई निर्देशन दिइएको हो।
बैठकमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, सेबोन, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ तथा सम्बन्धित निकायसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।
बैठकमा सांसदहरूले पुँजीबजारको पछिल्लो गिर्दो अवस्था, कर्जा विस्तारको धीमा गति, सेयर बजार विकासका लागि नयाँ वित्तीय उपकरण, लगानीकर्ता संरक्षण, नीतिगत सुधारलगायत विषयबारे जिज्ञासा व्यक्त गरेका थिए।
समितिले छलफलका क्रममा उठाइएका सबै विषयलाई समेटेर अध्ययन गर्न तथा कार्यान्वयन गर्न सकिने र नीतिगत रूपमा सुधार गर्नुपर्ने विषय छुट्याई १० दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिइएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।
उनका अनुसार बैठकमा समितिका सांसद सदस्यलेले सेयरको सर्ट सेलिङ, डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरण कार्यान्वयन, संस्थागत लगानीकर्ता विस्तार, बैंक तथा पुँजी बजारबीचको समन्वयबारे चर्चा गरेको, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा नीतिगत स्थायित्वमा पनि जोड दिएका थिए।