काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठन गरेको कार्यदलले अन्तिम प्रतिवेदन गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष बुझाएको छ।
डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित 'बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल'ले आज २०८२ साल असार ३० गते गभर्नरलाई १८० पेजको प्रतिवेदन बुझाएको हो।
यसअघि कार्यदलले प्रारम्भिक प्रतिवेदन २०८२ असार २४ गते बुझाइसकेको थियो। कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्यका रूपमा रहेका छन् भने नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य-सचिवका रूपमा सहभागी छन्।
राष्ट्र बैंकको पहलमा गठित यो कार्यदललाई बैंक तथा वित्तीय संस्थाको हालको अवस्था, चुनौती, नियामकीय पक्ष, संस्थागत सुधार र दीर्घकालीन स्थायीत्वका लागि सुझाव पेश गर्न जिम्मेवारी दिइएको थियो।
कार्यदलले देशको बैंकिङ प्रणालीमा देखिएका कमजोरी, नीति-नियमको प्रभावकारिता, लगानीको प्रवाह, जोखिम व्यवस्थापन, पूँजी पर्याप्तता, तरलता अवस्था, एनपीएल नियन्त्रणलगायत विषयमा अध्ययन गरी सुझावहरू समेटिएको प्रतिवेदन तयार पारेको छ।
राष्ट्र बैंकका उच्च स्रोतका अनुसार कार्यदलको सुझावको अध्ययनपछि केही महत्वपूर्ण नीति सुधार र कार्यान्वयनको चरण प्रारम्भ गरिने अपेक्षा गरिएको छ।
यस कार्यदलबाट प्राप्त सुझावले आगामी मौद्रिक नीति तथा नियामकीय नीतिहरूमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ। बैंकिङ क्षेत्रमा बढ्दो चुनौतीको सन्दर्भमा यस्तो सुझाव कार्यदलले राष्ट्र बैंकलाई दीर्घकालीन सुधारको दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।