काठमाडौं। २० वाणिज्य बैंकले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन्। ५ वटाको स्थिर हुँदा २ वटाले ब्याजदर बढाएका छन्।
वाणिज्य बैंकको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ। असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकामा साउनमा घटेर ६.७३ कायम भएको छ।
नेपाल बैंक र कृषि विकास बैंकले असारमा कायम ५.४५ प्रतिशत ब्याजदर घटाएर साउनमा ५.४० प्रतिशतमा ल्याएका छन्। लक्ष्मी सनराइज बैंकले ५.७५ बाट ५.५० प्रतिशतमा झारेको छ। प्रभुले असारको ६.१० बाट साउनमा ४.२५ प्रतिशतमा झारेको छ।
कुमारी बैंकले ५.७१ बाट ५.४१ प्रतिशत, प्राइम बैंकले ६.२५ बाट ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ बाट ५.५० प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५० बाट ५.३५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ बाट ५.५० प्रतिशत, एभरेष्ट बैंकले ६.५५ बाट ६.२५ प्रतिशतमा ब्याजदर झारेका छन्।
माछापुच्छ्रे, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड गरी ५ बैंकले क्रमशः ६.००, ५.७५, ६.००, ६.०० र ६.२५ प्रतिशत ब्याजदर साउनका लागि स्थिर राखेका छन्।
व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाउने बैंकमध्ये हिमालयनले साउनमा ब्याजदर ६ प्रतिशत पुर्याएको छ, जुन असारमा ५.५० प्रतिशत थियो। यस्तै, सानिमा बैंकले ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन अघिल्लो महिनामा ६.३३ प्रतिशत थियो।
साउनका लागि सार्वजनिक ब्याजदरले वित्तीय क्षेत्रको तरलता र बैंकिङ प्रणालीमा देखिएको स्थायित्वलाई संकेत गरेको देखिएको छ।