काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ पोखरा सडक निर्माण अन्तिम चरणमा छ। संघीय राजधानीपछिको पर्यटन राजधानी पोखरा पुग्न यो सडकले सर्वसाधारणलाई सहज बनाइरहेको छ।
मुग्लिन पोखडा सडकको पूर्वी खण्ड तनहुँको मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल बन्दै छ। पुल बनेपछि नेपालका लागि नौलो पूर्वाधार योजना बन्नेछ। ३१८ मिटर लामो पुल निर्माण तीव्र गतिमा अघि बढेको छ। पुल निर्माणले हालसम्म करिब ७० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको मुग्लिन–पोखरा पूर्वी खण्डका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए।
‘यो पुल नेपालको पूर्वाधार विकासमा कोसेढुंगा साबित हुनेछ। ३१८ मिटर लम्बाइको यस पुलमा चार वटा गाडी एकैपटक गुड्न सक्नेछन्।’ उनले भने, ‘यसको कुल ६ वटा स्प्यानमध्ये चार वटा आरसीसी बक्स गर्डर र बाँकी दुई वटा नेटवर्क आर्क डिजाइनका छन्।’
पुलको मुख्य विशेषता भनेको डिजाइन–बिल्ड कन्ट्र्याक्ट अन्तर्गत निर्माण भइरहेको छ। सरकारले सैद्धान्तिक डिजाइन दिएपछि सम्पूर्ण विस्तृत डिजाइनको जिम्मेवारी निर्माण व्यवसायीकै रहेकाे छ। डिजाइनको प्राविधिक पक्षसम्मको जिम्मेवारी निर्माण व्यवसायीकै हुनेछ। पुलको मर्मत सम्भार अवधि पाँच वर्ष रहेको छ।
यो परियोजनाको कुल सम्झौता रकम करिब १ अर्ब २१ करोड रुपैयाँ छ। वित्तीय प्रगति ७१ प्रतिशत र भौतिक प्रगति पनि सोही हाराहारी रहेको भण्डारी बताउँछन्। हालसम्म पुलका मुख्य संरचनाको काम सम्पन्न भइसकेको छ।
प्रारम्भमा डिजाइन स्वीकृतिका लागि १३ महिना लाग्नु मुख्य समस्या थियो। यस्तै, पुलको दमौली डिभिजन सडक कार्यालय क्षेत्रमा पर्ने भागमा सरकारी कार्यालयहरू विस्थापनको समस्या छ। यसका लागि मुआब्जा निर्धारण र वितरणको कार्य भइरहेको छ। नदीको देब्रेपट्टि रहेको पहरा क्षेत्रमा पनि जग्गा र घरको मुआब्जा निर्धारण गरी वितरण कार्य जारी छ।
अहिले वर्षायामका मादी उर्लिंदा काममा केही ढिलाइ भएको छ। तर, मनसुन सकिएलगत्तै बाँकी रहेका दुई स्प्यान र एप्रोच रोडको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मादी नदीबाटै बालुवा र गिट्टीको स्रोत उपलब्ध भए पनि गुणस्तरको सुनिश्चितताका लागि बस्तीपुरबाटै ढुंगा ल्याएर प्रयोग गरिएको छ।
-1752647923.jpg)
-1752647923.jpg)
-1752647922.jpg)
-1752647922.jpg)
तस्बिरः सरिता थारु