काठमाडौं । रेमिट सेवाप्रदायक कम्पनी आइएमई पे र खल्ती वालेट मर्ज भई आजबाट आइएमई खल्ती लिमिटेड (‘खल्ती बाई आइएमई’) नाममा एकीकृत कारोबार सुरु भएको छ। दुवै कम्पनी मर्जसँगै एकीकृत कारोबार सुरु भएपछि एउटै एपमा साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राही र पुँजीले ‘खल्ती बाई आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको दुवै कम्पनीले जनाएका छन्। मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्नेछ। दुई कम्पनी मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा दिँदै आएका थिए।
आइएमई पे रेमिट्यान्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरका कारण युवा पुस्तामा रुचाइएको थियो। दुवै वालेट मर्जपछि सेवालाई अझ परिस्कृत, सहज, सरल र सुरक्षित रूपमा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्।
साबिक आइएमई पे प्रयोगकर्ताका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यस प्रक्रियामार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरण नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्ती प्रयोगकर्ताले आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्नेछन्।
आइएमई पे आइएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो। खल्तीमा पछि वल्र्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ता आबद्ध थिए। आइएमई डिजिटल सोलुसन्स अध्यक्ष कृष्णप्रसाद शर्माले आइएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि मर्जर ऐतिहासिक कदम भएको प्रतिक्रिया दिए।
आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजना अगाडि बढाइने जनाए।