काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन्। विद्युत विकास विभागको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्ताे बताएका हुन्।
उनले भने,"हामीले भाषण धेरै गर्यौं, अब साँचिकै काम गर्ने समय हो। यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ। ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो।"
मन्त्री खड्काले देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै, "ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौं, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौं," भन्ने धारणा राखे।
मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता "देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने" रहेको उल्लेख गर्दै भन्नुभयो, "हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ।"
उनले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिए।