काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई सटही सीमा बढाउँदै यस्तो मुद्रा आफ्नै खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीति कार्यान्वयनमा परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८१ मा संशोधन/परिमार्जन/थप व्यवस्था गर्दै राहदानी बापतको सटही सुविधा र दफा २ मा उल्लिखित औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोलीसमेत) उपलब्ध गराउन सकिने उल्लेख गरेको छ।
मौद्रिक नीतिमार्फत यसअघि राहदानी सुविधावापत भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपालीहरूले पाउने दुई हजार डलर सटही सुविधाालाई तीन हजार डलर बनाएको थियो। यस्तो सटही नयाँ डलर खाता खोलेर खातामा उपलब्ध गराउन सकिने व्यवस्था अहिले गरिएको हो।
यस्तै, डेरिभरेटिभ कारोबारको हकमा बैंकका लागि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै कारोबार गर्न पाउने सीमालाई बढाएर २५ प्रतिशत मौद्रिक नीतिमा गरिएको थियो। जुन विभागद्वारा परिपत्र जारी भएसँगै कार्यान्वयनमा आएको छ।
साथै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को परिच्छेद ६ (ख) तथा सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग निवारण नियमावली, २०८१ को परिच्छेद ६ बमोजिम सूचक संस्थाले निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा अनुसूची १ बमोजिमका ‘वित्तीय संस्थाका लागि लक्षित वित्तीय प्रतिबन्धसम्बन्धी मार्गदर्शन’ जारी गरिएको हुँदा सोहीबमोजिम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
ग्राहकको नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।