काठमाडौं। नेपाल विद्युत प्राधिकरण (एनइए)ले चार्जिङ स्टेसन निर्माणमा कडाई गरेको छ। पछिल्लो समय जथाभावी रुपमा बढ्दो चार्जिङ स्टेसनलाई नियन्त्रण गर्न प्राधिकरणले जथाभावी ट्रान्सफर्मर ११ हजार भोल्टेजको विद्युत लाइन दिन कडाइ गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तीन किलोमिटरभित्र समान क्षमता भएका चार्जिङ स्टेशन राख्नका लागि आवश्यक ट्रान्सफर्मर र ११ हजार भोल्टेजको विद्युत लाइन दिन बन्द गरिएको जानकारी दिए। ‘कुनै ठाउँमा चार्जिङ स्टेशन नहुने र कुनै ठाउँमा धेरै हुने समस्या भएपछि अहिले केही कडाई गरिएको हो,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘समान क्षमताभन्दा ठूलो क्षमताको चार्जिङ स्टेशन राखेमा हामी सबै सुविधा दिन तयार छौँ।’
चार्जिङ स्टेशन राख्ने नाममा पछिल्लो समय विभिन्न कम्पनीले प्रतिस्पर्धात्मक रुपमा विभिन्न ब्रान्डले जथाभावी रुपमा राख्दै आएका छन्। एउटा मात्र चार्जिङ पोइन्ट राखेर पनि चार्जिङ स्टेशन राख्ने गरेकाले त्यसलाई कडाई गर्न थालिएको प्राधिकरणले जनाएको छ।
विद्युतीय सवारीले आफ्नो ब्रान्डअनुसार चार्जिङ स्टेशनहरु राख्ने होडबाजी चलाउन थालिएको छ। ‘जहाँ एउटा पनि चार्जिङ स्टेशन छैन, त्यस्ता ठाउँमा राख्नका लागि प्राधिकरणले प्रोत्साहन गरिरहेको हुन्छ,’ शाक्यले भने, ‘जहाँ धेरै छ, त्यही ठाउँमा अर्को उही क्षमताको राख्न कडाई गरेका हौँ।’
एउटा चार्जिङ स्टेशन राख्दा प्राधिकरणको १० लाख खर्च
निजी क्षेत्रले राख्ने एउटा चार्जिङ स्टेशनमा प्राधिकरणको १० लाखभन्दा बढी खर्च हुने गरेको छ। चार्जिङ स्टेशन राख्नका लागि आवश्यक ट्रान्सफरमर र ११ हजार भोल्टेजको लाइन जोड्दा प्राधिकरणको मात्र १० लाख रुपैयाँ खर्च हुने भएपछि त्यसलाई रोक्न चार्जिङ स्टेशन निर्माणमा नयाँ मापदण्ड बनाएको हो।
‘हामी चार्जिङ स्टेशन निर्माण नगर्ने भन्ने पक्षमा हैनौँ,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘साना क्षमताभन्दा ठूलो क्षमताको राखेर एकै ठाउँमा धेरै गाडीले एक साथ चार्ज गर्न सकोस् भन्ने हाम्रो उद्देश्य हो।’
१२ सय वटाले लिए अनुमति
हालसम्म प्राधिकरणबाट चार्जिङ स्टेशन निर्माणका लागि एक हजार २०० वटाले अनुमति लिइसकेको जनाएको छ। तीमध्ये केही सञ्चालनमा आइसकेका छन् भने अधिकांश निर्माण भएर सञ्चालनको तयारीमा रहेको छ।
यति धेरै संख्यामा बनिरहेको चार्जिङ स्टेशनमा प्राधिकरणतर्फबाट पनि ठूलो मात्रामा खर्च गर्नुपर्ने भएकाले त्यसलाई केही मात्रामा नियन्त्रण गरेर कडाई मात्र गर्न खोजिएको जनाएको छ।