काठमाडौं। भूमि सुधार तथा व्यवस्थापन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याकंअनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा गत आव ०८१/८२ मा घरजग्गा कारोबार संख्या घटेको छ। तर, राजस्व संकलन बढेको देखिएको छ।
आव ०८०/८१ मा पाँच लाख ४२ हजार ८९५ वटा लिखत पास भएका थिए। भने आव ०८१/८२ मा पाँच लाख ३२ हजार १२८ वटा लिखत पारित भएका छन्। यो संख्या १० हजार ७६७ ले कमी हो।
तथ्यांकअनुसार आव ०८१/८२ को असारमा देशभरका १३४ ओटा मालपोत कार्यालयबाट एक लाख ५४ हजार ७२० वटा घरजग्गा सम्बन्धि कारोबार हुँदा ५५ हजार ५२४ वटा लिखत पारित भएका छन्। जुन गत जेठ महिनाको तुलनामा ७८६ ले कमी हो।
गत जेठ महिनामा एक लाख ५६ हजार ७५२ ओटा घरजग्गा सम्बन्धि कारोबार भएका थिए। जसमध्ये लिखत पारिततर्फ ५६ हजार १० ओटा कारोबार भएका थिए।
राजस्व संकलन बढ्यो
तथ्यांकअनुसार पछिल्लो एक वर्षमा घरजग्गा कारोबारबाट पाँच अर्ब २७ करोड १८ लाख १६ हजार ४४४ रुपैयाँले राजस्व बढेको छ। अघिल्लो वर्ष लिखत पारितवापत ३८ अर्ब ८० करोड ४० लाख ६७ हजार ६३२ राजस्व संकलन भएकोमा गत वर्ष ४५ अर्ब १७ करोड ३५ लाख ८२५ राजस्व संकलन भएको छ।
पछिल्लो असार महिनामा यस्तो लिखत पारितवापत तीन अर्ब ४९ करोड ६९ लाख ८८ हजार ८२१ रुपैयाँ राजस्व संकलन भएको छ। यो जेठ महिनाको तुलनामा ९७ करोड १३ लाख ७० हजार ५५३ रुपैयाँले बढी हो। गत जेठमा २ अर्ब ५२ करोड ५६ लाख १८ हजार २६८ रुपैयाँ राजस्व संकलन भएको थियो।
विभागका अनुसार देश भरबाट लिखत पारित, नामसारी, संशोधन साविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहियानी हक नामसारी, मोही लगत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि प्रक्रिया, गुठी अधीनस्थ जग्गाको लिखत पारित, गुठी अधीनस्थ जग्गाको नामसारी, गुठी अधीनस्थ जग्गाको दाखिल खारेज, गुठी जग्गा तथा सम्पदा, गैर घरजग्गासम्बन्धी लिखत पारित, स्रेस्ता एकीकरण आयोजना फिर्ताको लिखतलगायत कारोबार भएका हुन्।