काठमाडौं। कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा सन्तुलित व्यवसाय विस्तार र जोखिम व्यवस्थापनमार्फत सुदृढ वित्तीय प्रदर्शन गर्न सफल भएको छ।
बैंकले चौथो त्रैमाससम्म ९८ करोड ७० लाख रुपैयाँको सञ्चालन मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकले ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ।
सञ्चालन सूचक पनि सुदृढ देखिएका छन्। नियामक नेपाल राष्ट्र बैंकको मापदण्डभन्दा उच्च १३.२० प्रतिशत पुँजीकोष अनुपात कायम गर्दै बैंकले वित्तीय मजबुती प्रदर्शन गरेको छ। यस्तै, निष्क्रिय कर्जा अनुपात ३.३८ प्रतिशत कायम गर्न सफल भएको छ, जुन विगतको तुलनामा सुधारको संकेत हो।
हाल देशभर १३० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले यस त्रैमाससम्मको वित्तीय विवरण राष्ट्र बैंकले तोकेको समयसीमाअघि नै प्रकाशित गरेर नियामकीय पालना तथा पारदर्शिता सुनिश्चित गरेको छ।
बैंकले आगामी दिनमा पूँजी संरचना थप मजबुत बनाउने उद्देश्यले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ। सोही प्रयोजनका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता भइसकेको छ। स्वीकृति प्राप्त भएलगत्तै सेयर निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
सुदृढ वित्तीय सूचकांक, नियामकीय अनुपालन, वितरणयोग्य मुनाफाको राम्रो स्तर, र पुँजी विस्तार योजनालगायतका आधारमा बैंक आगामी दिनमा अझै प्रतिस्पर्धी र लगानीकर्तामैत्री संस्था बन्ने दिशातर्फ अग्रसर देखिएको छ।