म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ। राहुघाट म्याग्दीको बहुप्रतीक्षित आयोजना हो।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मंसिर ६ मा ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो। सन् २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो।
हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको राहुघाटको सिभिल ठेकेदारसँगको सम्झौताको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको रघुगंगा हाइड्रोपावर का प्रबन्ध सञ्चालक गणेश केसीले बताए।
‘ठेकेदारले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको थियो’, उनले भने, ‘परामर्शदाता ‘वाकफोस’को सिफारिसअनुसार चार महिना मात्र म्याद थपिएको हो।’ कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई ठेकेदारले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएको छ।
सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो। २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ।
राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजीकरण र ताकेता गरिरहेको बताए।
यसअघि गत असार १५ गते सम्पन्न कार्ययोजना ठेकेदारको ढिलासुस्तीका कारण असफल भएको विष्टले बताए। रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा–५ झिँको फेदीमा बाँध, ६ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ।