काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक/निजी साझेदारी (पीपीपी)मोडलमा चार वटा ठूला क्षमताका विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।
प्राधिकरणले चार ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्न निजी फर्म तथा कम्पनीबाट आशयपत्र (इओआई) आह्वान गरेको हो।
प्राधिकरणको सूचनाअनुसार ११८ किलोमिटर लामो तिङ्ला–दूधकोसी–ढल्केबर ४०० केभी, ९४ किलोमिटर लामो अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमिटर लामो न्यु खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमिटर लामो लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माणका लागि आशयपत्र मागिएको हो।
प्राधिकरणको सूचनाअनुसार आयोजना सञ्चालन गर्न आवश्यक पर्ने वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन्यु–एआरआर) का आधारमा प्रतिस्पर्धामार्फत उपयुक्त कम्पनी छनोट गर्नेछ। आशयपत्र पेस गर्ने प्रत्येक फर्म वा कम्पनीले बोलपत्रमार्फ बोली लगाएको आवश्यक राजस्वको आम्दानी रकम र अन्य प्राविधिक क्षमताका आधारमा प्रतिस्पर्धामार्फत निर्माणकर्ता कम्पनी छनोट गरिनेछ।
छनोट हुने कम्पनीले प्रसारण लाइन आयोजना निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विकास गर्नुपर्नेछ।
प्राधिकरणका अनुसार तिङ्ला–दूधकासी–ढल्केबर लाइनको लागत करिब १४ करोड २० लाख अमेरिकी डलर (करिब १९ अर्ब ६१ करोड ५८ लाख), अरुण हब (शीतलपाटी)–इनरुवा तथा न्यू खिम्ती ढल्केबरको ८ करोड लाख अमेरिकी डलर (११ अर्ब ५ करोड) र लप्सीफेदी–३ पिप्लेको १ करोड ८० लाख डलर (१ अर्ब ४८ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ।
इच्छुक निजी फर्म/कम्पनीले प्राधिकरणमा ३० दिनभित्र आशयपत्र पेस गरिसक्न प्राधिकरणको व्यापार विकास निर्देशनालयबाट जारी सूचनामा उल्लेख छ।