काठमाडौं। २०७५ देखि चार लेनमा विस्तार सुरु गरिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक ७ वर्षसम्म पनि निर्माण पूरा हुन सकेन। आयोजनाको तेस्रो पटक थपिएको म्याद साउन ८ मा सकिँदै छ।
चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नेपाल सरकारसँग २०७५ माघ २४ देखि ४२ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरे पनि ७ वर्षसम्म काम नसकिएको हो। सात वर्षसम्म पनि काम नसकिएपछि निर्माण कम्पनीले विभिन्न वहाना बनाएर पटक–पटक म्याद थपिँदै आएको छ।
सरकारले तेस्रोपटक म्याद थप्दा अब अन्तिम भने पनि निर्माण एक चौथाइ बढी बाँकी रहेपछि फेरि एक वर्षका लागि समय थपिन लागेको सडक विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक इन्जिनियर चुडाराज ढकालले बताए। उनले निर्माण कम्पनीले म्याद धेरै मागे पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि चौथोपटक थपिन लागेको जानकारी दिए।
‘निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको हो। त्यसकारण फेरि म्याद थप्नुपर्ने बाध्यता छ’, उनले भने। हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत पुगेको छ।
नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले निर्माण कम्पनीले दाउन्ने खण्डमा काम गरिरहेको छ। उकालो दाउन्ने खण्डमा यात्रुलाई समस्या परेकाले त्यहाँ ढलान भइरहेको छ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर छ। असार मसान्तसम्म पूर्वी खण्डमा ५६ किलोमिटर सडक कालोपत्रे भएको छ।
दुई खण्डमा बाँडेर काम भइरहेको नारायणगढ–बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख छ। नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) ६५ किलोमिटर रहेको छ भने पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटर छ।
यो सडक स्तरोन्नतिमा एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोग छ भने बाँकी रकम सरकारको हो।