काठमाडौं। कुनै सत्तारुढ एमालेमा हालका प्रधानमन्त्री निकट मानिने पूर्वराष्ट्रपति विद्या भण्डारी अध्यक्ष केपी शर्मा ओलीबाटै तिरस्कृत हुन पुगेकी छन्। एमालेमा अध्यक्ष ओलीको हैकमविरुद्ध अर्को पार्टी गठन गरेर माधव नेपालहरु बाहिरिइसकेका छन्। पार्टीभित्र अध्यक्ष ओलीको विरोध गर्नेलाई पाखा लगाउने क्रम जारी छ।
एमालेलाई सत्ता र देशैभर फिँजाउन योगदान दिएका पूर्वमहासचिव मदन भण्डारीपत्नी विद्या अन्नतः अध्यक्ष ओलीकै कारण एमालेमा फर्किन नपाउने भएकी हुन्।
एमालेले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपतिसमेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ।
एमालेको मंगलबार राती सम्पन्न केन्द्रीय कमिटी बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकाल्दै विद्यालाई पार्टी प्रवेश निषेध गर्ने निर्णयमा पुगेको हो।
बैठकपछि पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहे पनि एमालेमा आउन नदिने निर्णय बैठकबाट भएको जानकारी दिए।
‘पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो’, गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्य–मान्यताअनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो। केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुंग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित छ।
बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ। यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउनेछ।
पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन–८४ मा जानुपर्ने र त्यसका लागि ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिएका थियो। पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी छ।
पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउनुहुँदैन भन्ने निष्कर्षमा पुगेको उनले बताए। राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झन्डा बोकेर हिँड्नुहुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पारे।
पूर्वराष्ट्रपति भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उनको दाबी छ। बैठकमा अध्यक्ष ओलीले विद्या भण्डारी अब कमरेड विद्या नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसक्नुभएको उनले स्मरण गराए।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले असहमति जनाएका छन्।