सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र त्यसबाट उत्पन्न धुवाँधुलोका कारण आजित भएका स्थानीय बासिन्दाले आज सडक अवरुद्ध पारेका छन्। निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको भन्दै लहानका बासिन्दाले यातायात सेवा ठप्प पारेका हुन्।
यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो। सन् २०२० अक्टोबरदेखि निर्माण कार्य सुरु भएको थियो। योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् सन् २०२३ अक्टोबरसम्ममा ८६.८२ किलोमिटर लामो यो सडकखण्ड विस्तार गरिसक्नुपर्ने थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप गरिसकिएको छ।
पहिलोपटक १४ महिना, दोस्रोपटक १२ महिना र हालै तेस्रो पटक ६ महिना थपेर निर्माण अवधि आगामी सन् २०२६ जुनसम्म पु¥याइएको छ। आयोजनाको कूल लागत भेरिएसनसहित करिब १६ अर्ब आठ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको छ।
पाँच वर्ष बितिसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ६९ प्रतिशत मात्र पुगेको छ। आयोजनाको पूर्वी खण्ड (३९.४२ किमि) मा करिब ६७ प्रतिशत र पश्चिम खण्ड (४७.४ किमि) मा ५५ देखि ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ। कोभिड–१९ महामारी, रुख कटान र विद्युत्का पोल सार्ने जस्ता काममा ढिलाइ, निर्माण सामग्रीको अभाव र स्थानीयको अवरोधका कारण कामले गति लिन नसकेको योजना प्रमुख श्रेष्ठको भनाइ छ।
सडक विस्तारको सुस्त गतिले लहान र मिर्चैया जस्ता बजार क्षेत्र धुलाम्य बनेका छन् । स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम बढेको छ। योजना प्रमुख श्रेष्ठले भने,‘हामीले ठेकेदार र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेका छौँ।’–रासस