काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणले आफै प्रक्रियामा गति लिने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदले राखेको जवाफमा प्रधानमन्त्री ओलीले विकासको काम प्रक्रियागत रुपमा हुने बताएका हुन्।
नेकपा एमालेबाट विभाजन भई गएको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले कुस्मामा रेल्वे स्टेशन बनाउने प्रधानमन्त्रीको घोषणा भए पनि बजेटमा किन नसमेटिएको भन्दै प्रश्न गरेका थिए।
यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘माननीय ज्यूले कुस्माका रेल्वे स्टेशन भनेर व्यंग्य गर्न खोज्नु भएको बुझिन्छ। हिजो बेलुकी बनाउने भनेको रेल्वे बिहानसम्म तयार भएन भनेजस्तो। रेल भनेको बेलुका भनेर रातभरिमा तयार हुने हो र? यो स्वस्थानी व्रतकथाको शिवजीले यसो पार्वतीलाई पल्लापटी देखाएको महल हो र?’
प्रधानमन्त्री ओलीले सांसद चौधरीलाई दिएको जवाफ
माननीय ज्यूले राख्नु भएको प्रश्नका सम्बन्धमा नेपाल सरकारले रेल पूर्वाधार विकास र विस्तारका लागि तत्कालीन रेलवे निर्माण आयोजनामार्फत मेची-महाकाली विद्युतीय रेलमार्ग र पोखरा-काठमाडौं विद्युतीय रेलमार्गसमेत गरी कुल एक हजार ३१७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ।
पोखरा-काठमाडौं-लुम्बिनी रेलमार्गका लागि स्रोत खोजी गर्ने सन्दर्भमा मित्र राष्ट्र चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन भएको छ। सम्भाव्यता एवं विस्तृत अध्ययनका आधारमा रेलवे पूर्वाधारहरूको निर्माण कार्य क्रमशः अगाडि बढाइने छ।
माननीय ज्यूले कुस्मामा रेल्वे स्टेशन भनेर व्यङ्ग्य गर्न खोज्नु भएको बुझिन्छ। यस्ता दीर्घकालीन महत्वका परियोजना पोहोर प्रस्ताव राखेर अहिले पूरा हुने योजना होइनन्। त्यो हाम्रो विकासको सपना हो। यो पनि पूरा हुने दिन आउँछ।
पहिले दैलेखमा ग्यास उत्खनन् गर्छु भन्दा यस्तो व्यङ्ग्यात्मक प्रश्न आउँथे। अब ११२ अर्ब घनमिटर ग्यास रहेको र अर्को वर्षदेखि उत्पादन हुन्छ भनेपछि व्यङ्ग्य गर्नेहरु त्यसमा हाम्रो पनि योगदान छ भन्न थालेका छन्।
यो रेल्वेबारे पनि अहिले व्यङ्ग्य गर्ने माननीयले पछि हाम्रो पनि योगदान छ। एकलौटी जस लिन पाइँदैन भन्नु हुने छ भन्ने मलाई लाग्छ।