काठमाडाैं। सामाजिक विकास कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ। गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्ये ८४ वटा योजना र कार्यक्रम कार्यान्वयन भएका हुन्।
कार्यालयका प्रमुख तारानाथ सुवेदीले ३८ वटा कार्यक्रममध्ये एउटा कार्यान्वयन नभएको बताउँदै पुँजीगतका २७ मध्ये २४ वटा योजना कार्यान्वयन भएका जानकारी दिए।
“विद्यालय पूर्वाधार र शिक्षासम्बन्धी चालुतर्फका २३ मध्ये सबै कार्यक्रम सम्पन्न भएका छन्”, उनले भने, “कुल रु चार करोड ८० लाखमध्ये तीन करोड ९४ लाख ६३ हजार खर्च भएको छ।”
पुँजीगत शीर्षकमा एक करोड ४२ लाख २९ हजार विनियोजन भएकामा एक करोड १४ लाख २५ हजार र चालुतर्फ तीन करोड ३८ लाख २५ हजार विनियोजन भएकामा दुई करोड ८० लाख ३८ हजार खर्च भएको प्रमुख सुवेदीले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिका–५ को शिख र धवलागिरि गाउँपालिका–७ को हेम नमूना आवासीय माविमा सञ्चालित आवासीय विद्यालयको छात्रावास भवनमा पूर्वाधार निर्माणका लागि आठ/आठ लाख अनुदान दिइएको छ। दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच बढाउन आवासीय विद्यालय सञ्चालनका लागि आवासीय विद्यालय सञ्चालन भएको उनले बताए।
कार्यालयमार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिक स्थलहरूको संरक्षणसम्बन्धी योजना, बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाति, एकल महिला, दलित समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ।