देशको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशमा यो वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ प्रभावित भएको छ।
मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित छन्। जिल्लामा करिब ३० प्रतिशत मात्रै रोपाइँ भएको छ।
१० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ। जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्लाभरि रोपाइँको अवस्था सन्तोषजनक छैन।
पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ।प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेसको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरे। प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्। त्यहाँ आफूले किसानसँग पनि कुराकानी गर्ने उनले बताएका छन्। सरकारले सुक्खाग्रस्त मधेसमा धान राेप्न ५०० ट्युवबेल तत्कालै जडान गर्ने भएकाे छ।
महोत्तरी मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांस सुख्खा छन् भने पम्पसेटको साहेताले रोपाइँ गरिएका खेतमा धाँजा फाटेका छन्। सोही गाउँका स्थानीय इस्लाम कवाडीले यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि पनि कलमा पानी नआएको सुनाए।










-1753506325.jpg)

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी