काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरसहित प्यानलै विजयी भएका छन्।
संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा उनले सञ्जिव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन्।
उनले नर्दन टेरोटेरीबाट सञ्जिव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अष्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन्। १६ हजार १२१ मतदाता रहेको अष्ट्रेलियाबाट कुँवरले १३ हजार ७०१ खसेको मतबाट ६८३९ मत पाए।
झण्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए। प्यानलसहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए।
यो जित समग्र संघका सदस्यहरूको जित रहेको भन्दै आफूले यो विश्वासलाई सधैँ न्याय दिलाउने उद्घोष गरे।
यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा राज्य सरकारबाट अनुदान भित्र्याउने र दुई मिलियन डलरको स्रोत सुनिश्चित गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउने छन्।
यसअघि कुँवर एनआरएनए अष्ट्रेलियाको राज्य संयोजक (२०१७-२०१९), आईसीसी सदस्य (२०१९-२०२१), र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१-२०२३)को जिम्मेवारीमा बसिसकेका छन्।
कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रम जस्ता सफल आयोजनालाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन्।
एनआरएनए अष्ट्रेलियाअन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायसँग साझेदारीमार्फत सम्पन्न गरिने उनको योजना छ।
निर्वाचनबाट उपाध्यक्षमा (एनआरएन अष्ट्रेलियाका अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भएका छन्। उनले ७२६१ मत पाउँदा अर्का उम्मेदवार रमेश पौडेलले ४६१९ मत पाए।
यस्तै, महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए। उनले ७०३० मत पाउँदा अर्का उम्मेदवार सिड्नीका भरतमणि देवकोटाले ३२५३ र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १८१४ मत पाए।
कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए। उनले ७०८७ मत पाउँदा लुना सिवाकोटीले ४७५६ मत पाए। यस्तै सचिव पदमा कल्याण खड्काले ७१८० मतसहित विजयी भए।
एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिज्नो अधिकारी विजयी भएकी छन् राष्ट्रिय युवा संयोजकमा पुकार घिमिरे निर्वाचित भएका छन्।
यससँगै, अध्यक्ष कुँवरको प्यानलबाट निर्वाचनमा होमिएकामध्ये अधिकांशले विजयी हासिल गरेका छन्।