काठमाडौं। नेपाल पर्वतारोहण संघ अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र संवद्र्धनका लागि मेरो उम्मेदवारी’ नारासहित शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
संघको निर्वाचन भदौ ७ मा काठमाडौंको कमलादीमा हुँदै छ। संघ अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधिभित्र रहेर सदस्यको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए।
संघको सदस्य भएको गर्व महसुस प्रत्येक सदस्यले गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजना सञ्चालन गरिने उनको भनाइ छ।
यस्तै आरोहीको हकहित संरक्षणका लागि र आपतकालीन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थीत गर्ने प्रतिबद्धता जनाए। हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन सकिरहेको छैन।
हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालय र विश्वविद्यालय नभएकाले धेरै नेपालीले विदेशमा गएर पढ्नुपर्ने र सिक्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केही कलेजमा हुन्छ। तर, विश्वविद्यालयकै रुपमा नेपालमा नभएकोले माउन्टेन एडभेन्चर युनिभर्सिटी खोल्न सुरुआत गर्नेछु’, अध्यक्षका आकांक्षी शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभर्सिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधिसम्बन्धी पढ्न जाने हजारौं युवाले नेपालमै पढ्न पाउँछन्।’
अहिले पनि केही युवाले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ(युआइएजीएम)का सदस्यता लिएका छन्। ती युवाले वसन्त र शरदऋतुमा नेपालमा काम गर्छन र विन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए।्र
‘यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भए ती युवामा विदेश गएर काम गर्नुपर्ने बाध्यता हट्छ। स्वदेशमै बसेर लाखौं रुपैयाँ कमाउन सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीसमेत यही पढ्न आउँछन्,’ अध्यक्षका उम्मेदवार शेर्पाले भने, ‘किनकि हामीकहाँ विश्वविद्यालय मात्र हैन, उनीहरुले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउँछन्, जुन विदेशमा छैन।’
पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभर्सिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुनेछ र विदेशीलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुन सक्ने उनले बताए। ‘विश्वमा नेपालले दिन सक्ने सबैभन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो, जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्र्नुपर्छ र मेरो प्रमुख एजेन्डा नै यही छ,’ उनले भने।
विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधासम्पन्न आरोहणसम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ट खाले तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए।
हाल कोङबुचे, थामे, मनाङ, पोर्चेलगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहे पनि समन्वयकारी भूमिका पर्वतारोहण सघंले गर्न नसकिरहेको अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ट बनाउनेतर्फ ध्यान केन्द्रित गर्दै अझ राम्रो बनाउँदै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।
‘प्रकृतिले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ र ८ हजारभन्दा माथिका धेरै हिमाल नेपालमै छन। तर, नेपालीले राम्रोसँग हिमालसम्बन्धी पढ्न नपाएको कारणले अहिले पनि धेरै विदेशी टुर गाइड नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन्,’ शेर्पाले भने, ‘अब नेपालीलाई नै सक्षम बनाउने मेरो अभियान हो।’
विश्व कीर्तिमानीलाई विमानस्थलमा विशेष सुविधा
अध्यक्षमा निर्वाचित भएपछि हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेकालाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता उनले जनाए।
‘विश्व कीर्तिमानी भनेको सामान्य विषय हैन, त्यसैले रेकर्डधारीलाई विशेष सम्मान दिन विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था मिलाउने प्रतिबद्धता मेरो छ,’ शेर्पाले भने ‘उहाँहरुको शिर ठाठो हुनु भनेको आमनेपालीको शिर ठाडो हुनु हो। त्यसैले कीर्तिमानी आरोहीको सम्मानका लागि सरकारसँग विशेष पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजानेछु।’
हिमाल जोगाउन विशेष पहल
अहिले जलवायु परिवर्तनको नाममा विभिन्न एनजीओ र आइएनजीओले कमाइ खाने माध्यमको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ।
‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै गएको छ। तर, सहरमा त्यही हिमाल संरक्षण र जलवायु परिवर्तनबारे गोष्ठी गरेर करोडौ रुपैयाँ स्वाहा बनाइरहेको छ,’ शेर्पाले भने, ‘हिमाली क्षेत्रमा पछिल्लो समय वर्षैैपिच्छे हिमताल फुटिरहेका छन्, हिमपहिरो गइरहेको छ। त्यसैले जलवायु परिवर्तनले कहाँ–कहाँ असर गरेको छ, त्यसबाट बचाउन के–के गर्न सकिन्छ र के गर्ने भन्ने विषयमा सम्बन्धित ठाउँमा त्यहीका पर्वतारोहीसँगै समन्वय गरेर जिम्मेवारी दिनेछु।’
उनीहरुको सुझावअनुसार कुन क्षेत्रमा के–के गर्दा संरक्षण हुन्छ र हिमाल जोगाउन सकिन्छ भनेर काम गर्ने र जलवायु परिवर्तन सम्बन्धी काम गर्ने संघ–संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताए।
स्थानीय स्तरमै रेस्क्यु टिम
युरोप, अमेरिकालगायतका मुलुकमा आरोहणमा जानेहरुको उद्धारका लागि छुट्टै रेस्क्यु टिम बनाएको हुन्छ। नेपालमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै रेस्क्यु टिम ढिला पुग्नु नै हो। जब खराब मौसम हुन्छ, त्यो बेला ठूला दुर्घटना हुने गरेका छन्। जति बेला मौसम बिग्रिन्छ, त्यो बेला हुने दुर्घटनाको क्रममा खोज तथा उद्धारका लागि टिम पठाउन निकै समस्या हुन्छ।
रेस्क्युमा विज्ञता भएकाहरु सबै काठमाडौंमा हुने भएकाले मौसममा आएको समस्याको कारणले तीन चार दिनसम्म पठाउन सकिँदैन। त्यसैले हिमाली क्षेत्रमा त्यहीका स्थानीयलाई रेस्क्युसम्बन्धी तालिम दिने र रेस्क्यूका सम्पूर्ण उपकरण नै त्यही ठाउँमा राख्ने योजना उनको छ। र ती सबै तालिम प्राप्तलाई हरेक वर्ष तालिम दिने र उनीहरुको सबै सम्पर्क विवरण एकीकृत गरिराख्दा जुनसुकै बेला हुने दुर्घटनामा तत्कालै उद्धार गर्न सकिन्छ। सोही कारण समयमै उद्धार गरेर ज्यान बचाउन सकिन्छ।
को हुन् फुर गेल्जे शेर्पा?
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै र पढ्दै यस क्षेत्रमै सक्रिय भए। उनले पढाइ र कामलाई समान रुपमा अगाडि बढाए। पढाइ सकेपछि आफ्नै कम्पनी खोलेर व्यावसायिक यात्रालाई अगाडि बढाए।
उनले ६ हजारभन्दा माथिको एउटा वटा हिमाल आरोहण गरेका छन्। ‘सगरमाथा आरोहण गर्ने सपना भए पनि चार दशकअघि अहिलेजस्तो हिमाल आरोहण गर्दा पर्याप्त सामग्री नभएका र बर्सेनि ठूलो संख्यामा हिमाल चढ्न जाने शेर्पाहरुको ज्यान जाने भएकाले परिवारबाट त्यो बेलामा अनुमति पाइनँ,’ उनले भने, ‘बाबुआमाको एक्लो सन्तान भएकाले पनि हिमाल चढ्नका लागि रोक्नुभयो।’
हिमाल नचढेपनि त्यस क्षेत्रमा काम गरे र हिमाल चढेर आउनेसँग त्यस क्षेत्रबारे राम्रा/नराम्रा विषयमा सोधखोज गरिरहन्थे। केही समस्या आए सरकारका प्रतिनिधिलाई भनेर समाधानका लागि पहल गरिरहन्थ्ये। हिमाली क्षेत्रको रहनसहन, समस्या र त्यहाँको वातावरणबारे नजिकबाट नियाल्थे। उनी बाल्यकालदेखि अहिलेसम्म पर्वतीय पर्यटनसँग निकट नै भएर काम गरिरहेका छन्।
पर्वतारोहण संघमा उनी पहिलो पटक सन् १९९९ देखि २००२ सम्म कार्यसमिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखको रुपमा पनि उनले काम गरे। पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम, वाल क्लाइमिङ प्रतियोगितामा तीन पटक संयोजक भएर काम गरिसकेका छन्।
त्यसबाहेक नेपालको हिमाली क्षेत्रमा हुने दुर्घटना र परिघटनासँग सधैभरी नजिकबाट नियालेर समाजसेवा र उद्धारको काम गरिरहेका छन्। ‘मेरो जीवनमा सबैभन्दा बढी काम गरेको र समय बिताएको क्षेत्र नै पर्वतारोहण क्षेत्र नै हो, यसैमा बाँकी समय नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने चाहना राखेको छु,’ शेर्पाले भने, ‘अहिलेसम्म जे जति ज्ञान हासिल गरें, ती सबै पर्वतारोहण संघको नेतृत्वमा रहेर गर्न खोजेको हुँ।’