काठमाडौं। सत्तारुढ नेकपा एमालेले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ। महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
उनका अनुसार महासचिव शंकर पोखरेल अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधि संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ। दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो, कतिले पार्टी छाडे, ती सबै विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए।
त्यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक परिचालन जिम्मा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाललाई, सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा अधिकारीलाई जिम्मा दिइएको छ।
महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलाई, स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राई र कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई जिम्मा दिएको बताएको छ।
महाधिवेशन प्रतिनिधिले आवासको व्यवस्था आफैं गर्नुपर्नेछ। आवास व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्नेछ। यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ।
विधान महाधिवेशनमा दुई हजार २७९ प्रतिनिधि तोकिएका छन्। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ।