काठमाडौं। कोदो कुनै एक समय यस्तो थियो जो गरिब छन् उनीहरुको घरमा मात्र यसको परिकार बन्थ्यो। अर्थात, गरिबको घरको मुख्य खानानै ढिँडो र खाजा कोदाको रोटी बन्थ्यो। र, उनीहरुको दैनिक तालिका नै कोदाको ढिँडो हुने गथ्र्यो।
अहिले समय बदलिएको छ। गरिबको झुपडीबाट फैलिएको कोदोको स्वाद अहिले नेपालका पाँचतारे होटल र थकाली खाना भान्सा घरको मुख्य मेन्यू बन्न थालेको छ। कुनैबेला गरिबको खाना भनिने कोदो अहिले नेपालमा ‘लक्जरियस’ र स्वस्थकर ‘सुपरफुड’का रूपमा स्थापित भइरहेको हो। नेपालीले मात्र हैन विदेशी पर्यटकहरुको रोजाईमा समेत कोदाको परिकार बन्न थालेको छ।
होटेल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार विदेशी पर्यटक स्थानीय खाना, रहनसहन र संस्कृतिमा विशेष रुचि राख्छन्। साेहीकारण कोदो जस्ता रैथाने बालीका परिकारहरूको माग बढेको हो।
‘कोदोलाई विश्वभरि नै सुपरफुडको रूपमा हेर्न थालिएको छ,’ उनले भने, ‘नेपालमा यसको उत्पादन प्रणाली अर्गानिक भएकाले पनि यसको माग बढ्दै गएको छ।’
कोदोको बढ्दो लोकप्रियता यसको उत्कृष्ट पोषण मूल्यसँग पनि जोडिएको छ। यो प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरूको राम्रो स्रोत हो। होटल व्यवसायीहरूले पर्यटकलाई कोदोका पोषणसम्बन्धी जानकारी उपलब्ध गराउन थालेका छन्। जसले यसको माग अझ बढाएको छ। ‘मम जस्तै कोदोका परिकारलाई पनि सर्वत्र पु याउने लक्ष्य राखेका छौँ,’ शाहले भने।
हाल पाँचतारे होटल तथा थाकाली रेस्टुरेन्टहरूमा कोदोको रोटी, ढिँडो, रक्सी र अन्य परिकारहरू उपलब्ध छन्।
हाल पाँचतारे होटल तथा थाकाली रेस्टुरेन्टहरूमा कोदोको रोटी, ढिँडो, रक्सी र अन्य परिकारहरू उपलब्ध छन्। होटेल संघ नेपालले आफ्नो ६०औं वार्षिकोत्सव (माघ २ गते) मा नेपालका ६० प्रकारका लोकप्रिय रैथाने खानाहरू समेटेर एउटा कुकबुक सार्वजनिक गर्ने योजना बनाएको छ। जसमा कोदोका परिकारहरू पनि समावेश हुने शाहले बताएका छन्।
पाँचतारे होटलदेखि दिल्ली बजारस्थित नेपाली भान्छाघर, बालुवाटारस्थित नेपाली चुलो, सिंहदरबारका सरकारी क्यान्टिन, पाटन जिल्ला अदालतलगायत उच्चस्तरीय क्षेत्रका क्यान्टिन तथा रेस्टुरेन्टमा कोदो परिकार पाइन्छन्।
काठमाडौंको पाँचतारे होटेल सोल्टीका एक्जिक्युटिभ सुसेफ आरबी बुढाथोकीका अनुसार पछिल्लो समयमा पाँचतारे होटलहरूमा कोदोबाट बनेका परिकारहरूको माग निकै बढेको छ।
‘हामीले पहिले पनि नेपाली खानाको थालीमा कोदोको रोटी साइडमा राख्ने गथ्र्यौं,’ उनी भन्छन्, ‘तर अहिले कोदोको कुकिज, प्यानकेक, मफिन, केक, नुडल्स, निमकीलगायतका धेरै परिकारहरू मेनुमा समावेश गरेका छौं।’
कोदोका परिकारको माग नेपाली र विदेशी दुवै ग्राहकबाट उत्तिकै रहेको बुढाथोकीले बताए। विशेषगरी ठूला पार्टी वा भोजहरूमा कोदोको रोटी धेरै खपत हुने गर्छ भने ‘अ ला कार्ट’ (अर्डर गरेर खाने) मा पनि यसको राम्रै माग छ।
कोदोलाई पहिले गरिब तथा पहाडी भेगका मानिसहरूले खाने अन्नका रूपमा हेरिन्थ्यो। ‘गाउँघरमा पनि अलि हुनेखानेले धानको भात खाँदा गरिबले कोदोको ढिँडो वा रोटी खान्थे। तर, अहिले यो धारणा बदलिएको छ,’ बुढाथोकीले भने।
मानिसहरूले कोदोको स्वास्थ्यसम्बन्धी फाइदाहरू बुझ्दै गएपछि यसको माग बढेको हो। गाउँको चिजलाई सहरबासीले अपनाउन थालेका छन्। उनका अनुसार अहिले सहरमा भाटभटेनीदेखि साना पसलहरूसम्म कोदोका विभिन्न उत्पादनहरू उपलब्ध छन्। बुढाथोकीले मैदाबाट बन्ने परिकार कोदोबाट बनाउन सकिने उल्लेख गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोदोजन्य बाली प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका पोषक तत्वहरूको राम्रो स्रोत हुन्।
स्थानीय रैथाने खानाको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र दुवैले सक्रिय सहकार्य गरिरहेका छन्। नेपाल सरकारको नयाँ पर्यटन नीतिले पनि स्थानीय रैथाने खानाको प्रवद्र्धनलाई उच्च प्राथमिकता दिएको छ। होटेल संघ नेपालले ‘रैथाने खानाको प्रमोसन’ नामक अभियान चलाइरहेको शाहको भनाइ छ। जसअन्तर्गत देशभरबाट करिब २२० प्रकारका रैथाने खाना संकलन गरिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोदोजन्य बाली प्रोटिन, फाइबर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका पोषक तत्वहरूको राम्रो स्रोत हुन्। नसर्ने रोगहरूको बढ्दो चुनौती समाधानका लागि कोदोको उपभोग महत्वपूर्ण हुन सक्छ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा. राम कृष्ण श्रेष्ठले कोदोबाट रोटी, ढिँडो र सातुजस्ता परम्परागत परिकार मात्र नभई केक, ब्रेड, चाउमिन, कुकिज, बिस्कुट, पिज्जा, डोनट जस्ता आधुनिक परिकारमा विविधीकरण गर्नुपर्नेमा जोड दिए। यसले वर्तमान पुस्तामा कोदोको उपभोग बढाउनुका साथै बजारीकरणको वातावरण पनि सिर्जना गर्नेछ।
‘परिकार विविधीकरणले निजी उद्यमी, होटल व्यवसायी र होमस्टे सञ्चालकमार्फत आन्तरिक र बाह्य पर्यटकसम्म पनि बजार विस्तार गर्न सकिनेछ,’ उनले भने, ‘सरकारी कार्यालय र सार्वजनिक कार्यक्रममा पनि कोदोका परिकार प्रयोग गर्नुपर्छ।’
कोदो नेपालको पहाडी क्षेत्रका लागि एक प्रमुख बाली थियो। जहाँ यसलाई कम सिँचाइ र पाखोबारीमा पनि उब्जाउन सकिन्थ्यो। यो कम स्रोतसाधन भएका परिवारका लागि भरपर्दो खाद्यान्न थियो। तर, धान र अन्य अन्नबालीको उपलब्धता बढ्दै गएपछि कोदोको महत्व घट्दै गयो। यसलाई सामान्यतया निम्न आय भएका वर्गले मात्र उपभोग गर्ने अन्नका रूपमा हेर्न थालियो। तर, पछिल्लो समय यहीँ बालीबाट बन्ने परिकार तारेदेखि समान्य रेस्टुरेन्टको मेनुको मुख्य परिकार बनेको छ। कोदोको यो पुनरुत्थानमा ‘ग्यास्ट्रोनोमी टुरिजम’ को महत्वपूर्ण भूमिका छ।
कोदो क्षेत्रफल र उत्पादन घट्दो
नेपालमा कोदो बालीको क्षेत्रफल र उत्पादन दुवै घटेको छ। कृषि मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा ४२ हजार हेक्टर क्षेत्रफल घटेको छ। सो क्षेत्रफल घटेर ३८ हजार टन उत्पादन घटेको छ।
आर्थिक वर्ष २०७८/७९ मा २ लाख ६७ हजार ०७१ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएकोमा ४२ हजार हेक्टर क्षेत्रफल घटेर २०८०/८१ मा २ लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा खेती भएको छ। यस्तै, वर्ष २०७८/७९ मा ३ लाख ३९ हजार ४६२ टन कोदो ३८ हजार टनले घटेर वर्ष २०८०/८१ मा ३ लाख ७३२ टन उत्पादन भएको छ। यसो हुनु पहाडी क्षेत्रमा खेती गर्ने प्रवृत्ति घट्दै जानु रहेको जनाकारहरुले बताएका छन्।

जलवायु परिवर्तनको दृष्टिकोणले पनि कोदो अन्य बालीभन्दा बढी उपयुक्त मानिन्छ। कोदोको खेतीमा कम रासायनिक मल र विषादीको प्रयोग गर्न सकिन्छ, जसले हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्ने कृषि विभागका महानिर्देशक कुमार सन्जेल बताउँछन्।
नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदो खेती हुने गरेको छ, जहाँबाट ३ लाख ७३२ टन कोदो उत्पादन भएको छ। तर, प्रतिहेक्टर उत्पादकत्व केवल १.३३ मेट्रिक टन मात्र छ, जुन कम हो। सन्जेलले उन्नत प्रविधि, सिँचाइ र मलखादको व्यवस्थापनले उत्पादन र उत्पादकत्व बढाउन सकिने सम्भावना रहेको बताए।
आयात कति?
नेपालमा वार्षिक रुपमा १५ देखि १८ हजार टन कोदो आयात भइरहेको छ। नेपालमा कोदोको विभिन्न परिकारको माग रहेपनि यहाँ प्रयाप्त उत्पादन हुन नसक्दा कोदो बाली आयात भइरहेको छ। सोबापत नेपालबाट वार्षिक ७१ करोडदेखि ७६ करोड रुपैयाँ खर्च भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। नेपालले भारत र चीनबाट यो बाली आयात गरिरहेको छ।

कोदोको बढ्दो आकर्षणका बाबजुद केही चुनौतीहरू पनि छन्। नेपालमा पहिलो पटक ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नाराका साथ साउन १६ गते मनाएको छ। नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो प्रमुख खाद्यान्न बाली हो।
कृषि विभागका महानिर्देशक कुमार सन्जेल का अनुसार, कोदो कम सिँचाइ र मलिलो नभएको पाखोबारीमा पनि खेती गर्न सकिन्छ, र जलवायु परिवर्तनको दृष्टिकोणले यो अन्य बालीभन्दा बढी उपयुक्त छ। यसको खेतीमा कम रासायनिक मल र विषादी प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत पुग्छ।