काठमाडौं। गाई वस्तु तथा कुखुरा (पशुपन्छी) का लागि दाना उत्पादन गर्ने महोत्तरीको एकीकृत कृषि उद्योग युवरानी एग्रो इन्डस्ट्रिजले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपिओ जारी गर्न आवश्यक पर्ने क्रेडिट रेटिङको प्रक्रिया सम्पन्न गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले युवरानी एग्रोलाई इस्युअर डबल बी माइनस रेटिङ दिएको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम खालको जोखिम रहेको संकेत गर्छ। महोत्तरीको गौशाला–१ मा दाना उत्पादन प्लान्ट रहेको युवरानी एग्रो एउटा पूर्ण एकीकृत कृषि व्यवसाय हो।
कम्पनीले विशेष गरी गाई वस्तु, कुखुरा र माछाका लागि आवश्यक दाना उत्पादन गर्दै आएको छ, जसको वार्षिक उत्पादन क्षमता ३० हजार मेट्रिक टन रहेको छ। दाना उत्पादनका अतिरिक्त कम्पनीले आफ्नै पोखरीहरूमा व्यावसायिक माछापालन, गाई वस्तु तथा कुखुरा पालन र चल्ला उत्पादनका लागि ह्याचरी समेत सञ्चालन गरिरहेको छ। कुखुराका चल्ला उत्पादन वार्षिक ४० देखि ५० हजार चल्ला क्षमता रहेको छ।
कम्पनीले आइपिओ जारी गरेर प्राप्त हुने रकम आफ्नो चौथो महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको आधुनिक वधशाला र कोल्ड स्टोरेज निर्माणमा खर्च गर्ने योजना बनाएको छ। हालसम्म दाना उत्पादन र पशुपालनमा बलियो पकड बनाएको यो कम्पनीले अब प्रशोधित मासुको व्यवसायमा प्रवेश गर्न आईपिओको पुँजी परिचालन गर्ने लक्ष्य राखेको हो। यो परियोजना निर्माण सम्पन्न भएपछि कम्पनीको आम्दानी र मुनाफामा अझ उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
युवरानी एग्रोको व्यापारिक ग्राफ पछिल्लो समय निकै उत्साहजनक देखिएको छ। आर्थिक वर्ष २०२१ मा मात्र ५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको यस कम्पनीले ४ वर्षभित्रै अर्थात् आर्थिक वर्ष २०२५ मा आइपुग्दा आफ्नो कारोबारलाई बढाएर ६५ करोड १० लाख रुपैयाँ पु¥याएको छ। भने चालु वर्षको ९ महिनामै ४१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।
कम्पनीको व्यापार वार्षिक औसत ८५ प्रतिशतका दरले बढिरहेको छ भने सञ्चालन नाफा मार्जिन १३.५२ प्रतिशत र खुद नाफा मार्जिन करिब ५ प्रतिशत रहेको छ। प्रवद्र्धकहरूले १५ करोड रुपैयाँ थप पुँजी लगानी गरेपछि कम्पनीको ऋण र नेटवर्कको अनुपातमा सुधार आई वित्तीय अवस्था थप बलियो बनेको छ।
कम्पनीको नेतृत्व अध्यक्ष सुशीलाकुमारी यादव र प्रबन्ध निर्देशक मोहम्मद कमारे आलमले गरिरहेका छन्। सुशीलाकुमारी यादवसँग माछापालन र कृषि क्षेत्रमा लामो अनुभव छ । कम्पनीमा यादवको ६९.४२ प्रतिशत र रजनीश कुमार यादवको १३.८८ प्रतिशत सेयर स्वामित्व रहेको छ। सरकारले सन् २०२४ देखि २०३४ सम्मलाई ‘कृषिमा लगानीको दशक’ घोषणा गरेको र तराई क्षेत्रमा फिसरी कोरिडोर लगायतका योजना ल्याएकाले युवरानी एग्रोका लागि भविष्यमा बजार विस्तारको ठुलो सम्भावना देखिएको छ।
यद्यपि कृषि र पोल्टी व्यवसायमा हुने वर्ड फ्लु जस्ता रोग व्याधिको प्रकोप, जलवायु परिवर्तनको जोखिम र कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफालाई प्रभावित पार्न सक्ने चुनौतीहरू भने कायमै रहेका छन्। प्रस्तावित वधशालाको सफल कार्यान्वयन र बजारीकरणमा नै कम्पनीको भविष्यको प्रतिफल निर्भर रहने रेटिङ रिपोर्टले औँल्याएको छ।