काठमाडौं। ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आज सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको छ। संसद् भवन नयाँ बानेश्वरमा समिति संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन्।
समितिले तयार पारेको प्रतिवेदनमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा अन्तिममा हस्ताक्षर गर्ने सभापति रामहरि खतिवडा र सरकारका मुख्यसचिव एकनारायण अर्याल मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
कांग्रेस सांसद जीवन परियार नेतृत्वको सात सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सोमबार बेलुकीदेखि मंगलबार बिहान ४ बजेसम्म छलफल गरी सर्वसम्मत पारित भएको हो।
समितिले कुलिङ पिरियड त्रुटिका लागि सभापति खतिवडा राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुनुपर्ने र समिति सचिव सुरजकुमार दुरा पनि त्यसमा दोषभागी रहेको ठहर गरेको छ।
समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य छन्।
राज्य व्यवस्था समितिले विधेयकको एउटा दफामा संघीय निजामती सेवाका कर्मचारीले राजीनामा दिएपछि तथा अवकाश पाएपछि अर्को संवैधानिक र राजनीतिक नियुक्तिका लागि २ वर्ष पर्खनुपर्ने व्यवस्था गरे पनि सभापति खतिवडा र मुख्यसचिवले पछि उक्त व्यवस्था केरमेट गर्न भूमिका खेलेको आरोप लागेको छ।
प्रतिवेदन समितिले आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो। समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। प्रतिनिधिसभाले गत असार २३ मा उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो।