काठमाडौं। विदेशी पर्यटकबाट आन्तरिक हवाई यात्रामा लिँदै आएको ‘डलर फेयर’ हटाउने प्रस्ताव पुनः व्यूतिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि पटक–पटक यस्तो प्रस्ताव अघि सारे पनि निर्णय हुन सकेको थिएन।
पर्यटन मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री खड्गराज पौडेल (गणेश) ले उक्त विषयलाई पुनः अगाडि बढाएका हुन्। केही दिनअघि पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूको छाता संगठनका प्रतिनिधिहरूसँगको भेटमा उनले डलर फेयर हटाउने तयारी भइरहेको बताएका थिए।
‘आन्तरिक उडानमा विदेशी पर्यटकबाट लिँदै आएको डलर फेयर तत्कालै हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा छु,’ मन्त्री पौडेलको भनाइ उद्धृत गर्दै एक व्यवसायीले भने, ‘यो विषय पटक–पटक उठेको छ, अब टुंगोमा र्पुयाउँछु।’
यसअघि पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले पनि डलर फेयर हटाउने प्रयास गरेका थिए। तर, चौतर्फी विरोधका कारण निर्णय कार्यान्वयन हुन सकेन। नेपालमा विदेशीलाई लिइने हवाई भाडा महँगो भएको भन्दै विभिन्न देशका राजदूतहरूले समेत यस विषयमा ध्यानाकर्षण गराएका थिए।
मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरूलाई पटक–पटक डलर फेयर हटाई नेपाली सरह भाडा लिन आग्रह गरेका थिए। तर, कुनै निष्कर्ष ननिस्किएपछि अध्ययन समिति गठन गरिएको थियो। उक्त समितिको प्रतिवेदन प्राधिकरण सञ्चालक समितिबाट पारित भई मन्त्रीस्तरबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउने व्यवस्था छ।
विदेश भ्रमणमा जाँदा नेपालीले छुट्टै हवाई भाडा तिर्नु नपर्ने उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायीहरूले स्वेच्छाले भाडा समायोजन नगरे सरकार हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिएका थिए। त्यसबेला वायुसेवा सञ्चालकहरूले डलर फेयर हटाइए व्यवसाय बन्द गर्नुपर्ने चेतावनी दिएका थिए।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले एक कार्यक्रममा डलर फेयर हटाइए सरकारलाई व्यवसायको साँचो बुझाउने चेतावनी दिएका थिए। भाडा समायोजनसम्बन्धी समितिमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने माग भए पनि डलर फेयरकै विषयमा असहमति हुँदा उनीहरूको प्रतिनिधित्व हुन सकेको छैन।
हवाई इन्धन महँगिएपछि निर्णय स्थगित
मध्यपूर्वमा बढ्दो तनावका कारण कच्चा तेलको मूल्य वृद्धि भएसँगै नेपालमा हवाई इन्धनको मूल्य पनि बढाइएको छ। नेपाल आयल निगम ले अप्रिल १ देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १२४ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले मूल्य वृद्धि गरेको हो।
अब काठमाडौंमा आन्तरिक उडानका लागि प्रतिलिटर २५१ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १,७८५ अमेरिकी डलर तिर्नुपर्नेछ।
इन्धन मूल्य बढेपछि तत्कालका लागि डलर फेयर हटाउने निर्णय रोकिएको छ। परिस्थिति सहज भएपछि प्रस्ताव पुनः अगाडि बढाइने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
एयरलाइन्सको चेतावनी
डलर फेयर हटाउने तयारीबारे छलफल गर्न बुधबार एयरलाइन्स सञ्चालकहरूले मन्त्री पौडेलसँग भेट गरेका थिए। भेटका क्रममा व्यवसायीहरूले डलर फेयर हटाइए दुर्गम क्षेत्रमा उडान गरिरहेका एयरलाइन्स बन्द हुन सक्ने चेतावनी दिएका छन्।
हाल दुर्गम क्षेत्रमा तारा एयर, समिट एयर र सीता एयर ले उडान गर्दै आएका छन् भने सुगम क्षेत्रमा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्स सञ्चालनमा छन्।
व्यवसायीहरूका अनुसार विदेशीबाट लिइने डलर फेयरबाट भएको आम्दानीले दुर्गम उडानको घाटा पूर्ति गर्दै आएको छ। ‘विदेशीलाई डलरमा टिकट बेचेर नेपालीलाई सस्तो भाडामा सेवा दिइरहेका छौं,’ एक व्यवसायीले भने, ‘डलर फेयर हटाइए दुर्गम उडान प्रभावित हुने मात्र होइन, सुगम उडानको भाडा पनि बढ्न सक्छ।’
मन्त्री पौडेलले भने निजी क्षेत्रसँग सहकार्य गरेर कसैलाई समस्या नपर्ने गरी निर्णय गरिने आश्वासन दिएका छन्।