काठमाडौं। हुम्लाको चंखेली गाउँपालिका ५ स्थित डोनमो-थिङथिङ सीमा नाका सात वर्षपछि पुनः खुलेको छ। कोभिड-१९ महामारीका कारण बन्द रहेको यो नाका १५ दिनका लागि सञ्चालनमा आएको हो।
नियमित रूपमा खुल्दै आएको यो नाका कोभिड-१९ महामारीपछि बन्द हुँदा स्थानीयहरूलाई जिल्ला मुख्यालय सिमकोट र अन्य स्थानमा आवतजावत गर्न बाध्य हुनु परेको थियो। यो नाकाबाट लामो समयदेखि नुन, तेल, घ्यू, चिया, पिठो, चामल र ऊनी कम्बलजस्ता वस्तु आयात हुँदै आएको छ। नाका बन्द हुँदा चंखेली, सार्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिकाका बासिन्दा प्रभावित भएका थिए।
यस वर्ष पुनः खुलेसँगै चंखेली ५, नेप्का गाउँका जसबहादुर तामाङलगायत स्थानीयहरू दुई दिन पैदल यात्रा गरेर सिमकोट पुग्ने र अस्थायी सीमा पास लिएर चीनको तिब्बत जाने तयारीमा छन्।
तामाङका अनुसार, पहिले पास बिना यात्रा गर्न सकिन्थ्यो। तर, कोभिड-१९ पछि चीनले पास अनिवार्य बनेको छ। यो बजार पुस्तौँयता सञ्चालनमा छ। गत वर्ष डोनमो-थिङथिङ नाका नखुलेपछि मुगु जिल्लाको नाक्चेनाग्ला हुँदै चीन आवतजावत गरिएको थियो।
नेप्का गाउँका स्थानीयका अनुसार यो नाका खुलेसँगै दैनिक उपभोग्य सामान ल्याउन सहज भएको छ। ‘सीमा पास लिन सिमकोट जान आउन मात्रै ७ देखि ८ हजार रुपैयाँ खर्च पर्छ,’ उनीहरूले भने।