काठमाडौं। खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०८३/८४ का लागि खानी खोजतलास तथा उत्खनन इजाजतपत्र नवीकरण गर्न ३ महिनाको समयसीमा तोकेको छ।
विभागले खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को प्रावधानअनुसार सम्बन्धित सबै सरोकारवालालाई सूचनामार्फत सूचित गरेको हो।
विभागका अनुसार इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र आफ्नो इजाजतपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ।
खोजतलास इजाजतपत्र नवीकरणका लागि सक्कल इजाजतपत्र, प्रगति विवरण, स्वीकृत कार्ययोजना अनुसारको फोटो तथा नक्सासहितको प्रगति प्रतिवेदन र आव २०८१÷८२ सम्मको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। नवीकरण र भू–बहाल दस्तुर बुझाएको बैंक दाखिला भौचर पनि अनिवार्य गरिएको छ।
उत्खनन इजाजतपत्रका लागि निवेदन, कम्पनी अद्यावधिक रहेको प्रमाण, उत्खनन कार्यको विस्तृत विवरण कारोबार, आय–व्यय आदि र खानीमा कार्यरत कामदार तथा कर्मचारीको जीवन बिमा गरेको अभिलेख पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
स्थानीय विकास शुल्क बुझाएको प्रमाण, वातावरणीय सेवा शुल्क र वातावरणीय समीक्षा प्रतिवेदन पनि आवश्यक पर्नेछ। विभागका अनुसार तोकिएबमोजिमको नवीकरण दस्तुर र भू–बहाल रकम दाखिला नगरेमा वा कम दाखिला गरेमा इजाजतपत्र नवीकरण गरिने छैन।
नवीकरणका लागि निवेदन दिँदा कम्पनीको साविक र हालको ठेगाना, सम्पर्क नम्बर र इमेल स्पष्ट रूपमा खुलाउनुपर्नेछ।