काठमाडौं। रुपन्देही प्रहरीले रुपन्देहीको बुटवल उपमहानगर–६ नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न मेसिनसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाको घर तथा कोठामा गरिएको खानतलासीका क्रममा १ हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवले बताए। बरामद नोटको मूल्य ६ लाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन पनि बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेकाविरुद्ध मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ, भारत पश्चिम बंगाल सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द, बुटवल उपमहानगर–११ का ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगर–१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको वाणगंगा नगरपालिका–१ का सञ्जय थारु रहेको प्रहरीले बताएको छ।