काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छन्।
ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे।
उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
मन्त्री खड्काले जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए।
भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरिन्। निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा समिश्रण हासिल गर्न पम्पस्टोरेज आयोजनाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।
राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिइन्।