काठमाडौं। माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८१/८२ असारसम्म ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख थियो।
कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १३३.९५ प्रतिशतले बढेको हो।
कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ९७ करोड ६२ लाख थियो।
कम्पनीले बिमा दाबी भुक्तानीअन्तर्गत ८ करोड ६ लाख रुपैयाँ, ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ। विद्युत् बिक्री आम्दानी, बिमा दाबी भुक्तानी रकम र ब्याज खर्च पनि घटेपछि कम्पनीको खुद नाफा वृद्धिमा सघाउ पुगेको हो।
कम्पनीको सञ्चालन मुनाफा ५४ करोड ३० लाखबाट वृद्धि भई ८९ करोड २१ लाख पुगेको छ। हाल चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको कम्पनीको वित्तीय विवरण हेर्दा यस वर्षको नाफाबाट २२ प्रतिशत बढी लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ।
कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला आयोजना निर्माण तयारी गरेको छ। आयोजनामा लगानी गर्न ५० प्रतिशत हकप्रद निष्कासन गर्ने गरी यसअघिको साधारणसभाले पारित गरिसकेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँ छ।
कम्पनीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रोबाट नियमित विद्युत् उत्पादन भइरहेको छ।