काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणपूर्वको अध्ययनलाई जोड दिन आवश्यक रहेको बताएका छन्।
आज काठमाडौंमा आयोजित इन्जिनियरिङ पेसा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका विषयक कार्यशालामा उनले पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिस्ट अध्ययन एवं अनुसन्धान जरुरी रहेको बताएका हुन्।
नेपालको भूधरातलिय विशिष्टता सुहाउँदो विकास मोडल आवश्यक रहेको जनाउँदै नेपालको भौगोलिक चुनौती खेप्न सक्ने प्रविधिबारे समेत अध्ययन गर्न उनले आग्रह गरे।
आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार रहेको उनको भनाइ छ।
ठूला राजमार्गको विकास र विस्तार, आधुनिक सुरुङ निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडकलगायत संरचना निर्माणमा नेपाली इन्जिनियरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री दाहालले नेपाली इन्जिनियरको शिक्षा र क्षमतलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गरे।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पुर्याउन इन्जिनियरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताए। नेपालको पूर्वाधार क्षेत्र अहिले तीव्र निर्माणको चरणमा भएकाले यसपछि नयाँ चरण सुरु हुने उनको धारणा छ।
नेपालमा उत्पादित स्तरीय जनशक्तिबाटै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ अघि बढाउन सकिने भन्दै उनले नेपाली इन्जिनियरको वृत्ति विकास र योगदानलाई महत्त्वका साथ हेरिएको बताए।
काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियर र इन्जिनियरिङ क्षेत्रले विकाशका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदान नभई आधुनिक विकास सम्भव नहुने औंल्याए।
कार्यक्रममा इन्जिनियरिङ पेसा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञसहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिए।